बाढीले जोखिममा होकलवारी बस्ती



दमक : केही दिनयता परेको अविरल वर्षापछि कन्काई नदीमा आएको बाढीले गौरीगञ्ज गाउँपालिका-१ स्थित होकलवारी बस्ती जोखिममा परेको छ ।

नदीमा पानीको बहाव बढी भएसँगै पानी होकलबारी बस्तीमा पस्न थालेपछि बस्ती जोखिममा परेको वडाध्यक्ष कार्तिकलाल राजवंशीले बताए । उनका अनुसार तीन दिनदेखि वर्षा भइरहेको र नदीमा आएको बाढीले बस्ती आसपासका दुई दर्जनभन्दा बढी घर डुबानमा परेको छ । बस्तीका दुवैतर्फ कन्काई नदी भएकाले वर्षायाममा बस्तीमा यस्तै विपद् आउने गरेको उनले जानकारी दिए । उनले डुबानमा परेको बस्तीमा हुन सक्ने जोखिम नियन्त्रण गर्न उद्धार सुरु गरिएको बताए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले बस्ती डुबानमा परेपछि उद्धारका लागि प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरेको जानकारी दिए । रतुवा खोलामा आएको बाढीले कमल गाउँपालिका-६ स्थित खयरबारीमा कटान तीव्र बनाएको छ । बाढीले कटान तीव्र बनाएपछि कमल ६ र ७ का बस्तीमा पसेर ठूलो क्षति गर्न सक्ने गाउँपालिकाका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीले बताए । खोला बस्तीतर्फ पस्न नदिन आज बिहानैबाट जनप्रतिनिधि, सशस्त्र प्रहरी बल पाथीभरा गण र स्थानीयवासीको सहभागितामा इस्काभेटेर प्रयोग गरेर बाँस बिछ्याएर खोला रोक्ने काम भइरहेको उनले जानकारी दिए ।

वर्षाका कारण जिल्लाका विभिन्न नदीनालामा पानीको बहाव बढेपछि अहिलेसम्म बाढीले एकको मृत्यु तथा एकजना बेपत्ता भएको प्रनाउ थापाले बताए । रासस

प्रतिक्रिया दिनुहोस्