योग शिविरको टहरा तथा पर्खाल भत्काएको भन्दै पत्रकार यादवविरुद्ध उजुरी



जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका–८ स्थित बृहत्तर जनकपुर क्षेत्र विकास परिषदको अगाडि रहेको गुठीको जग्गा लिजमा लिई बनाइएको योग शिविरको टहरा तथा पर्खाल भत्काएको भन्दै राजर्षि जनक पतञ्जली योग साधना केन्द्रका अध्यक्ष विरेन्द्र कुमार यादवले बिबिसीको जनकपुरधाम सम्वाददाता बिरुद्ध प्रशासनमा उजुरी दिएका छन् ।

योग साधना केन्द्रमा तोडफोड गरेको भन्दै अध्यक्ष यादवले उनी विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् । योग साधना केन्द्रको साधक साधिकाहरु सहित पुगेका अध्यक्ष यादवले आइतबार धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलालाई निवेदन पत्र बुझाई उजुरी दिएका छन् ।

यसअघि आइतबार नै राजर्षि जनक पतञ्जली योग साधना केन्द्रले एक पत्रकार सम्मेलन गरी पत्रकारिता जस्तो सम्मानित पेशामा लागेपनि बिबिसीको जनकपुरधाम सम्वाददाताले आफ्नो जग्गाको बाटो बनाउनका लागि सार्वजनिक सम्पतिमा गरेको तोडफोडप्रति आपत्ति जनाएको छ । केन्द्रका संरक्षक समेत रहेका प्रदेश २ का प्रदेशसभा सदस्य कौशल कुमार यादवले पत्रकार बृजकुमार यादवले आफ्नो विवादित जग्गाको बाटो बनाउनका लागि गुण्डाशैलीमा सार्वजनिक सम्पतिमा तोडफोड गरेको आरोप लगाए । उनले पत्रकारिताको दम्भ देखाउँदै बल प्रयोग गरी पत्रकार यादवले गरेको क्षतिको क्षतिपूर्तीका साथै कानूनी कारबाहीको माग समेत गरे ।

किन पर्यो पत्रकार यादव बिरुद्ध उजुरी ?

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ मा गुठीको नाउँमा रहेको ७ कठ्ठा जग्गामा सञ्चालित एक योग शिविरको सेडको पर्खाल गत असार २५ गते एक समूहले भत्कायो । त्यसको भोलीपल्ट असार २६ गते कपालमोचनी सरको उत्तर तर्फको डीलमा योग साधना केन्द्रकै छेउमा रहेको एक घरलाई समेत भत्काएका थिए । यसका साथै केन्द्रको जिन्सी सामान, जेनेरेटर, पूजा अर्चनाका लागि आवश्यक सामग्रीहरु, साउण्ड सिस्टम लगायतका सामग्रीहरु लुटेर लगेको केन्द्रका अध्यक्ष विरेन्द्र यादवले जानकारी दिए ।

जनकपुर टुडे पत्रिकाका सम्पादक एवं बिबिसीको जनकपुरधामका सम्वाददाता बृजकुमार यादवले हालै खरिद गरेको निजी जग्गाको बाटोको लागि त्यहाँ तोडफोड गरेको योग शिविर जनकपुरधामका नगर अध्यक्ष विमल पण्डितले आरोप लगाए ।

बाटो नै नभएको जग्गा सस्तो भाउमा खरिद गरी घर निर्माणको नाममा बलजफ्ती कसैसंग सरसल्लाह नै नगरी पत्रकार यादवले योग शिविर नै अतिक्रमण गर्न खोजेको प्रदेशसभा सदस्य कौशल यादवले आरोप लगाए । उनले यो तोडफोडबाट योग साधना केन्द्रको १० लाख बराबरको क्षति भएको भन्दै क्षतिपूर्तीका साथै कारबाही भए मात्रै योगका साधक साधिकाहरुले न्यायको अनूभुति गर्ने बताए ।

उनले गुठी संस्थाको काठमाण्डौँस्थित केन्द्रिय कार्यालय र जनकपुरधामस्थित कार्यालयसंग अनुमती लिई ४ बर्षअघि योग शिविर निर्माण गरेको र वार्षिक रुपमा सो जग्गा वापतको कर समेत भुक्तानी गर्दै आएको दावी गरे । उनले भने,‘पत्रकारीताको आडमा जे पनि गर्न पाईन्छ र ? यो त गुण्डागर्दी हो, हामीसंग सरसल्लाह वा कुनै किसिमको जानकारी नै नगराई योग शिविरको मुल ढोका नै तोडी टहरा भत्काउन खोजिएको छ ।’

योग साधना केन्द्रले कपालमोचनी सरको डीलमा रहेको गुठीको जग्गा उपभोगका लागि सिट नम्बर १३५५–१६ कित्ता नम्बर ५८ को ७ कठ्ठा मध्ये ५ कठ्ठा ५ धुर जग्गाका लागि २०७३ साल मंसिर ८ गते चलन पूर्जी प्राप्त गरेको थियो । बाँकी रहेको जग्गा पोखरीको डीलमा सडकका लागि १५ फिटको जग्गा छोडिएको छ ।

यता पत्रकार बृजकुमार यादवले आफुहरुले योग शिविर तोडफोड नगरेको दावी गरे । उनले आफुले करिब अढाई वर्षपूर्व नै जग्गा खरिद गरेको र सो जग्गाको दुवै तर्फी बाटो रहेको भन्दै टुडे ग्रुपको कार्यालयका लागि सो जग्गा खरिदेको र सो जग्गाको दुई तर्फ बाटो समेत रहेको बताए । पूर्वतर्फ र पश्चिमतर्फ पनि बाटो छ । त्यसैले आफुले नतोडेको र कसले के गर्यो, त्यो पनि आफुलाई थाहा नरहेको उनले जिकिर गरे ।

तोडफोडका कारण एक गरिब घरवार विहिन

कपालमोचनी सरको उत्तर तर्फको डीलमा दर्जनौ गरिब परिवार वसोवास गर्दै आईरहेका थिए । बृहत्तर जनकपुरधाम क्षेत्र विकास परिषदका तत्कालिन अध्यक्ष रामकुमार शर्माले गुठीको जग्गा अतिक्रमण मुक्त अभियान चलाए । सोही क्रममा कपालमोचनी सरको डीलबाट १५ फिट जग्गा खाली गराउने क्रममा सबै घरपरिवारलाई हटाउन लगाए । सबै घर खाली भएपनि त्यहाँ एक गरिब दम्पति हालसम्म बसोवास गर्दै आईरहेका थिए ।

१७ वर्षदेखि पोखरीको डीलमा रहँदै आएकी राधा शर्माले पत्रकार यादवको यो गुण्डाशैलीका कारण आफू घरवार विहिन भएको भन्दै दुःख व्यक्त गरिन् । उनले भनिन्,‘आफू जानकी मन्दिरलाई डेढ क्विन्टल धान मनखब बुझाएर बस्दै आएको थिएँ, उनले रुदै अगाडी भनिन्,‘मेरो श्रीमान क्यान्सर पीडित छन्, अब घरवार विहिन भईसकेँ उनलाई लिएर कहाँ कहाँ भौतारिने ।’ तोडफोडपछि उनको घरमा रहेको लत्ताकपडा, आलमारी, भाडा वर्तन लगायतका सामानहरु गायब छन् । शर्माले तोडफोड गर्ने व्यक्तिलाई त्यो जग्गा आफ्नो रहेको प्रमाण भए नक्सा लिएर आउन समेत आग्रह गरिन् ।

प्रकाशित : असार २८, २०७७

प्रतिक्रिया दिनुहोस्