सूर्यराज र मुमारामले साझा पार्टी छोड्नको भित्री रहस्य !



काठमाडौं : पार्टी पुनर्संरचनाका लागि आफूहरुले राखेको प्रस्ताव केन्द्रीय समिति बैठकबाट अस्वीकृत भएपछि साझाका केन्द्रीय सदस्यद्वय सूर्यराज आचार्य र मुमाराम खनालले पार्टी परित्याग गरेका छन् ।

पार्टी केन्द्रीय समिति बैठकमा आइतबार पार्टी भंग गरेर नयाँ संरचना अनुसार अगाडि बढ्नुपर्ने प्रस्ताव राखेपनि संयोजक रवीन्द्र मिश्र तयार नभएपछि उनीहरुले पार्टीको जिम्मेवारीबाट बाहिरिएका हुन् । युवा तथा बौद्धिक जमातको बाहुल्य रहेको साझा पार्टीमा पछिल्लो आन्तरिक विवाद चर्किएको थियो।

बैठकमा पार्टी प्रवक्तासमेत रहेका आचार्यले पार्टी भंग गरेर नयाँ ढंगले अगाडि बढ्नुपर्ने प्रस्ताव पेश गरेका थिए । उनको प्रस्तावमा अर्का खनालले समर्थन जनाएका थिए ।

पछिल्लो समय पार्टीमा संयोजक रवीन्द्र मिश्रको कार्यशैलीप्रति चर्को मतभेद रहेको छ । अहिलेको पार्टी भंग गरेर रमेश खरेलसहितका विभिन्‍न समूहलाई समेटेर नयाँ पार्टी बनाउनुपर्छ भन्ने प्रस्ताव आचार्यको थियो ।

पार्टी निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका दुईजना अगुवा राजनीतिक विश्लेषक खनाल र पूर्वाधार विज्ञ आचार्य साझाबाट अलग भएपछि साझाको भविष्य अन्योलमा परेको चर्चा सुरु भएको छ । लुम्बिनी भेलाले धर्मनिरपेक्षता र संघीयताबारे लिएको निर्णयमा पनि खनाल र आचार्यको फरक मत थियो ।

पार्टीको संरचना साँघुरो भएको र वैकल्पिक राजनीतिको फराकिलो सोच नभएको भन्दै उनीहरुले आइतबारको केन्द्रीय कमिटिको बैठकमा पार्टीबाट अलग हुने घोषणा गरेका हुन्।

वृहत् वैकल्पिक शक्ति निर्माणका लागि अहिलेको पार्टी संरचना साँघुरो भएकोले अलग हुने घोषणा गरेको खनालको भनाइ छ ।

‘यो क्लबजस्तो साँघुरो स‌ंरचना बनाएर वृहत् वैकल्पिक राजनीतिक अभियान अघि बढाउन सहज नदेखिएपछि हामी अलग भएका हौं। यो पार्टीजस्तो भएन अत्यन्त साँघुरो संरचना भयो । पार्टीभन्दा पात्र ठूलो जस्तो भयो। वैकल्पिक राजनीतिको फराकिलो सोचसहित काम गर्ने उद्देश्यले हामी पार्टीबाट अलग भएका हौँँ, ‘उनले भने, ‘बृहत वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले साझा पार्टी गठन भएको थियो । तर, साँघुरो संरचनामा सीमित भयो । यसलाई अभियानको रुपमा अगाडि बढाउन सक्ने अवस्था भएन ।’

तर असार २६ गते बसेको केन्द्रीय समिति बैठकले पार्टीका समितिहरू भंग गरेर जान ठिक नहुने र विवेकशीललगायतका दलहरूसँग एकीकरण अगाडि बढाउनु पर्ने निर्णयपछि उनीहरु बाहिरिएको बुझिएको छ ।

आचार्य र खनालले पुरानै पार्टीसँग मिलेर जानुको कुनै अर्थ नहुनेभन्दै आफूहरू पार्टीको जिम्मेवारीबाट बाहिरिने बताएका थिए । साझा र विवेकशीलबीच ११ साउन २०७४ मा पनि पार्टी एकता भएको थियो भने २७ पुस २०७५ मा पार्टी विभाजन भएको थियो।

नेता खनाल र आचार्यलेले बाहिर बसेरै साझाको अभियानलाई सहयोग गर्ने बताए । ‘बाहिर बसेर साझा अभियानलाई सहयोग गर्नेछौँ’, उनले भने, ‘यो पार्टी त हामी पात्र भन्दा पनि सानो भयो ।’

उनले अगाडि थपे, ‘पार्टीभित्र फरक मत थियो, बहस हुँदै आएको हो । नेकपा, कांग्रेसजस्तै पार्टीलाई बनाउन खोजियो । हामीले त्योभन्दा माथि हुनुपर्छ भनेका हौं। सानो पार्टीको सानो कुरा भनेर बहस बाहिर आएन । पार्टीमा राजनीति चलिराछ भन्ने बुझ्नुस् न ।’

प्रतिक्रिया दिनुहोस्