१ सय ५ केजी चरेशसहित तीन जना पक्राउ



धादिङ : प्रहरीले धादिङको गजुरी गाउँपालिका वडा नं १ बाट एक सय पाँच किलो अवैध लागूऔषध चरेशसहित ३ जनालाई पक्राउ गरेको छ । चरेश ओसार पसारमा संलग्न रहेको आशंकामा तीन जना र भाडाको बस पनि नियन्त्रणमा लिएको छ । धादिङको गजुरी हुँदै वीरगन्जतर्फ जादै गरेको चेन्नई एक्सप्रेसको ना५ख २८१२ नम्बरको बसबाट आइतबार बिहान चेकजाँचका क्रममा प्रहरीले चरेश फेला पारेको हो ।

वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको सो बस गजुरीबजार पार गरेर केही माथि पुर्याएपछि पुनः फर्काएर वीरगन्जतर्फ जान लागेको देखेपछि शंका लागेर चेक जाँच गर्दा चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) राजकुमार बैैदवारले जानकारी दिए ।

प्रहरीले चरेश ओसार पसारमा संलग्न रहेको आशंकामा बसका चालक पर्सा वीरगन्ज महानगरपालिका वडा नम्बर ८ का ४५ वर्षीय लालबहादुर शाह, सह चालक बारा करैयामाई गाउँपालिका वडा नम्बर ७ का ३५ वर्षीय अनिल चौधरी र विवाहको लागि भन्दै बस रिजर्भमा लिएर आएका पर्सा विन्दवासिनी गाउँपालिका वडा नम्बर ३ का १९ वर्षीय श्रीराम साह कानूलाई पक्राउ गरेको छ ।

पक्राउ परेका सबैलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको एसपी वैदवारले जानकारी दिए । बरामद गरिएको चरेश र पक्राउ परेका व्यक्तिलाई आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय धादिङले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्