सुर्खेतको एक थुनुवामा कोरोना पुष्टि, हिरासत कक्ष सील



सुर्खेतः जिल्ला प्रहरी कार्यालय सुर्खेतको एक थुनुवाका कोरोना संक्रमण पुष्टि भएपछि हिरासत कक्ष ‘सील’ गरिएको छ ।

बलात्कारको अभियोगमा पक्राउ परी हिरासतमा राखिएका एक व्यक्तिमा कोरोना देखिएपछि हिरासत कक्ष सील गरिएको प्रहरीले जनाएको छ ।

वीरेन्द्रनगरका ३६ वर्षीय ती युवक हाडनाता करणीको आरोपमा यही असार १४ गते पक्राउ परेको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताए । “हिरासतमा राखिएका थुनुवाहरुको अनिवार्य पीसीआर गर्ने अदालतको आदेशानुसार यही असार २० गते परीक्षणका लागि उनको स्वाब सङ्कलन गरिएको थियो,” प्रहरी नायब उपरीक्षक घर्तीले भने, “तर ती युवकमा कोरोना संक्रमण पुष्टि भयो । यो सूचना पाउनेबित्तिकै हिरासत कक्ष सील गरेका छौँ ।”

उनका अनुसार ती युवकसहित ६ जनाको परीक्षण गरिएको थियो र कोरोना पुष्टि भएपछि युवकलाई स्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वयमा आइसोलेशनमा राखिएको छ ।
उनको सम्पर्कमा रहेका आफन्त र प्रहरीसहित २२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रदेश अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्