के माया लाग्छ र, उख्खुमै लाग्छ नि…



काठमाडौं : ‘गीत लेखेरै टिक्छु भन्ने लाग्दैन मलाई। गीत लेख्नु रहर हुन सक्छ। लोक संस्कृतिको जगेर्ना गर्न एउटा पाइला हुन सक्छ। स्थानीय ठेट शब्द र कला संस्कृतिको उख्खुमै माया लागेर हुन सक्छ। तर गीत लेखेरै करिअर बनाउन सक्ने माहोल बनिसकेको छैन, नेपाली सांगीतिक क्षेत्रमा’, गीतकार हर्क साउद आफ्नो गीतप्रतिको प्रेम बताउँदै थिए।

गीत लेख्ने काम पेसा हुन किन सक्दैन त ?  उनी भन्छन्, ‘मैलै यस्तो गीत लेखेँ भनेर सुनाउँदै हिँड्नु पर्‍यो, कि त निर्माता निर्देशकको चाकडी गर्नु पर्‍यो। म यस्तो गर्न जान्दिनँ। अर्को कुरा, आफूले जस्तोसुकै गीत लेखे पनि रेकर्ड गरिदिने मान्छे हुनु पर्‍यो। यस्तो सेटिङ गर्ने पनि खुबी छैन। तेस्रो कुरा, रचनाको बार्गेनिङ गर्न र एकै दिन अनेकौं गीत लेख्न सक्ने क्षमता पनि छैन।’ आफ्नो गीत आफैं बजारमा ल्याउने र अडियो भिडियो बनाउन लगानी गर्न सक्ने हैसियत पनि बनिनसकेको उनी बताउँछन्। यसै कारण आफू प्रोफेसनल गीतकार बन्न नसक्ने भनाइ उनको छ।

शब्दसँगको सम्बन्ध बताउँदै उनी भन्छन्, ‘गीत लेख्न मलाई कुनै फरक कथाले घुमाइरहनु पर्छ। लामो समयसम्म कथाका पात्रले छोडेनन् भने मात्र म उनीहरूले बोल्ने संवाद खोज्न थाल्छु। ती संवादले ठाउँ परिवेशको भाषा खोज्छन्। ठेट झर्रा शब्दमा लय भर्नु, धुन सिर्जना गर्नु र उनीहरूलाई जीवित बनाउने कोसिस गर्नु मेरो काम हो। यसैले मलाई सन्तुष्टि दिन्छ।’

उनी कहिलेकाहीँ गीत लेख्छन् र बबालै गर्छन्। पहिलोपटक नेपाली संगीतमा ‘सुन साइँली’ बोलको गीत लिएर आएका उनी यसैबाट सगरमाथाको जस्तै उचाइमा पुगे। उनको गीतले विदेशमा बस्ने लाखौं युवालाई रुवायो। देशभित्र बाहिर जताततै यही गीतको धुन घन्किन थाल्यो। करिब तीन वर्षअघि एउटा समय कस्तो थियो भने सामाजिक सञ्जाल, सार्वजनिक सवारी, मेला, महोत्सव, सांस्कृतिक कार्यक्रम जताततै ‘सुन साइँली’ घन्कने गथ्र्यो।

मीठा गीत सुन्न र अजर अमर शब्द खोज्न आजका निर्माता निर्देशक उनीकहाँ पुग्छन्। तीन वर्षको बीचमा उनले करिब एक दर्जन गीत लेखे। उनले लेखेका सबै गीतले श्रोता–दर्शकको माया पायो। ‘हात्ती ढुंगामा’, ‘कर्ली कर्ली कपाल’, ‘प्याटप्याटे चप्पल’ लगायतका सबै गीत हिट भए।

अन्नपूर्ण पोस्ट दैनिक

प्रतिक्रिया दिनुहोस्