डिप्रेसनमा दीपाश्री निरौला !



काठमाडौँ : अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाले एक टेलिभिजन अन्तर्वार्तामा अभिनेता राजेश हमालबारे दिएको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा धेरै उनी विरुद्ध खनिए । यही विषयमा सामाजिक सञ्‍जालमा आएका कमेन्ट र गाली गलौजका कारण अहिले उनको तनाव बढेको छ ।

३/४ दिनदेखि दीपा घरबाट निस्केकी छैनन् । लगातार दुई हप्तासम्म आक्रमक शैलीमा सामाजिक सञ्‍जालमा मानिसहरु खनिन थालेपछि आफ्नो चिन्ता बढ्दै गएको उनी बताउँछिन् । हप्तौं यही विषयउपर खनिएको देख्दा आफू गलेको र डिप्रेसनको नजिक पुगेको उनले बताइन् ।

उनले अन्तवार्तामा भनेकी थिइन्, ‘राजेश हमाल हुनुहुन्छ र ? राजेश दाइ मात्र महानायक हुनुभयो । त्यहाँ प्रोड्युसर महानायक भएन, डाइरेक्टर महानायक भएन । राजेश दाइले मात्रै फिल्म खेल्नुभो । उहाँले फिल्म इन्डस्ट्रीलाई हाँकेर लानुपर्छ ।’ यो अन्तर्वार्ता प्रसारण भएपछि नै हमालका प्रशंसकले उनको कलाकारिता र उनले फिल्म उद्योगमा पुर्‍याएको योगदानको अवमूल्यन भएको भन्दै आपत्ति जनाएका थिए । साथै दीपाश्रीले राजेशबारे टिप्पणी गर्दा अहं र दम्भ प्रदर्शन गरेको पनि उनीहरुको आरोप थियो ।

‘अस्वभाविक पेलान भो । हो म शब्द चयनमा चुकेको हो । उहाँ मेरो मनपर्ने अभिनेता हो । मैले उहाँलाई चलचित्र क्षेत्रको खम्बा भनेर आदर पनि गरेको छु,’ उनले भनिन्, ‘कुरा अस्वभाविक किसिमले यसरी मोडियो । १० दिनसम्म यही कुरा ? किन यस्तो घट्ना बढेको हो मैले त तुरुन्तै भोलिपल्ट नै माफी मागेको हो नि ! अहिले मन अलिकति गलेको छ,’ उनले भनिन् । उनको अभिव्यक्तिमाथि आएका प्रतिक्रिया शिष्ट र तार्किकमात्रै छैनन्, अश्लिल गालीगलौज पनि उत्तिकै छन् ।

उनी सकेसम्म यस्ता प्रतिक्रिया नहेर्ने प्रयास गर्छिन् । ‘तर, नहेरौं भन्दा पनि सामाजिक सञ्जालमा आँखा गइहाल्छ । त्यहाँ आएका कमेन्ट हेर्दा त मैले देशद्रोह नै गरेजसरी गाली गरिएको छ, उनी प्रश्न गर्छिन्, ‘म दोशदोह्री हुँ त ?’

हालै फिल्मकर्मी अशोक शर्माले फेसबुकमा स्टाटस लेख्दै यसै कारण दीपा डिप्रेसनमा पुगेको लेखेका थिए । ‘भर्खर दीपाश्री बहिनीसँग कुरा भयो । दीपा डिप्रेसनमा गइसकेको छ । सुशान्तसिंह राजपुतको मुम्बईको घट्ना ताजै छ । हुन त मैले दीपा बिहनीलाई तिमी त्यस्तो कुनै कदम नचाल हामी सबै तिम्रो साथमा छौं भनेर उसको घर जाँदैछु ‘ उनले फेसबुकमा लेखेका थिए । यो स्टाटस अहिले भने उनले हटाइसकेका छन् । दीपाकै टिमका एक सदस्यका अनुसार सोसल साइटमा भएको ‘बुलिङ’का कारण उनको टिमका सदस्यहरु पनि चिन्तित छन् । दीपाका बुबा पनि आइपुगेका छन् ।

प्रकाशित : असार ३०, २०७७

प्रतिक्रिया दिनुहोस्