आज देशभर वर्षा



काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशभर आंशिकदेखि सामान्य बदली रही विभिन्न स्थानमा पानी पर्ने सम्भावना रहेको जनाएको छ ।

अहिले देशका सबै स्थानमा मनसुनी वायुको प्रभाव रहेकाले बदली तथा वर्षा भएको मौसमविदले बताएका छन् । यस्तै मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भागबाट केही दक्षिण तिर सरेको छ।

देशभर अहिले आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

राति भने देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश ५, कर्णाली प्रदेशका र सुदुर पश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षा हुन सक्ने मौसमविदले बताएका छन् ।

देशका विभिन्न नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि मौसमविदले आग्रह गरेका छन् ।

प्रकाशित : असार ३०, २०७७

प्रतिक्रिया दिनुहोस्