प्रधानमन्त्री ओलीको अभिव्यक्तिले तताएको सामाजिक सञ्जाल



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या नेपालमा पर्ने र राम नेपाली भएको अभिव्यक्ति दिएपछि चर्को आलोचना शुरु भएको छ । प्रधानमन्त्री दिएको सो अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालहरुमा समर्थन र आलोचना भइरहेको छ ।

सोमबार भानुजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले रामको जन्म नेपालको अयोध्यापुरीमा भएको तर भारतले सांस्कृतिक अतिक्रमण गरेको अभिव्यक्ति दिएका थिए ।

‘हामीले सीता भारतका राजकुमार रामलाई दियौं भनेर भन्दै आएका छौं । तर, हामीले सीता भारतलाई होएन । अयोध्यालाई दिएका हौं, ’ उनले भने–‘अयोध्या भनेको वीरगञ्जभन्दा अतिकति पश्मिपट्टिको गाउँ हो ।’

सामाजिक सञ्जालमा केही थोरैले ओलीको टिप्पणीको समर्थन गरेको पनि देखिन्छ भने केहीले प्रधानमन्त्रीको भनाइप्रति व्यांग्य पनि गरेका छन् ।

टिप्पणी गर्नेहरुमा समाजिक सञ्जालका नियमित प्रयोगकर्ताहरुका साथै विभिन्न पेशाकर्मी, लेखक, पत्रकार र राजनीतिक कार्यकर्ताहरु पनि रहेका छन् ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ओलीको भनाईबारे व्यांग्य गर्दै ‘नयाँ रामायण श्रवण गरौं’ भन्दै ट्वीट गरेका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पछिलो प्रकरणले नेपाल भारतबीच थप विवाद सिर्जना गर्नेतर्फ प्रधानमन्त्रीको ध्यान गएको जस्तो नदेखिएको भन्दै ट्वीट गरेका छन् ।

पूर्वपरारष्ट्रमन्त्री रमेशनाथ पाण्डेले अंग्रेजीमा ट्वीट गर्दै लेखेका छन्–‘धर्म राजनीति र कूटनीतिभन्दा माथि छ । यो निकै भावनात्मक विषय हो । बेतुकका अभिव्यक्तिले लज्जित मात्र बनाउँछ । अयोध्या वीरगञ्जन नजिकै सरायु नदी कहाँ छ ?’

ओलीको भनाईपछि आश्चर्य व्यक्त गर्दै ट्वीट गर्नमा उनकै पूर्व प्रेस सल्लाहकार कुन्दन अर्याल समेत ओलीको भनाईपछि आश्चर्य व्यक्त गर्दै ट्वीट गर्नमा उनकै पूर्व प्रेस सल्लाहकार कुन्दन अर्याल समेत छन् । उनी लेख्छन्–‘यो के बोकेको ? कि भारतको टेलिभिजन च्यानहरुसँग प्रतिस्पर्धा गरेको ?’

यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का विदेश विभागका उपप्रमुख विष्णु रिजालले समेत ओलीबाट ‘एकपछि अर्को’ यस्ता अभिव्यक्ति आउनु ‘रहस्यमय’ रहेको ट्वीट गरेका छन् ।

‘पदमा बसेर बेतुकका र असान्दर्भिक कुरा बोल्दा राष्ट्रकै शीर झुक्छ । अप्रमाणित, पौराणिक र विवादास्पद कुरा बोलेर विद्वान भइन्छ भन्नु ठूलो भ्रम हो,’ रिजाल लेख्छन्–‘फुकीफुकी पाइचा चालेर भूमि फिर्ता ल्याउनुपर्ने बेलामा विरोध र उत्तेजनाका लागि एकपछि अर्को मसला दिइनु दुर्भाग्यपूर्ण मात्र होइन, रहस्यमय छ ।’

त्यस्तै अमित ढकाल लेख्छन्–‘श्रीलंका टापू कोशीमा छँदैछ । छेवैमा हनुमान नगर पनि, वानर सेनाले पुल हाल्दा बसालेको ।’

प्रतिक्रिया दिनुहोस्