सरकारको निर्देशिकाभन्दा बाहिर रहेर झापाका दुई विद्यालयमा पठनपाठन शुरु



झापा : झापाका दुई विद्यालयमा पठनपाठन शुरु भएको छ । जिल्लाको शिवसताक्षी–३ को शान्ति आधारभूत विद्यालय र वडा नम्बर ५ को सूर्योदय आधारभूत विद्यालय मा पठनपाठन शुरु भएको हो ।

शिक्षा मन्त्रालयले जारी गरेको निर्देशिका भन्दा बाहिर रहेर दुई विद्यालयले कक्षा सञ्चालन गरेका हुन् ।

कोरोनाका कारण सरकारले बन्द गरेको विद्यालय अझै खोल्ने तरखर गरेको छैन । तर, यी दुई विद्यालयले भने असार १ गतेबाट निरन्तर कक्षा नै सञ्चालन गरिरहेका छन् ।

त्यस्तोस शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाई क्रियापकलापका लागि वैकल्पिक माध्यमका रूपमा अनलाइन तथा रेडियो टेलिभिजनजस्ता माध्यमको उपयोग गर्न भनिरहेको छ ।

शिवसताक्षी–५ स्थित सालमारमा रहेको सूर्योदय आधारभूत विद्यालयले प्रत्येक दिन चारवटा कक्षा सञ्चालन गर्दै आएको छ । एउटा कक्षालाई डेढ घण्टा गरेर दिनमा चारवटा कक्षा पढाइरहेको विद्यालयका प्रधानाध्यापक जगतवीर तुम्बापोले बताए ।

यस्तै, शान्तिले भने दिनमा दुईवटा मात्र कक्षा सञ्चालन गर्दै आएको प्रधानाध्यापक विष्णु भट्टराईले जानकारी दिए । तर, कोरोना महामारीका वेला विद्यालय सञ्चालन गरेका यी विद्यालयले विश्व स्वास्थ्य संगठनको न्यूनतमा मापदण्ड पनि पूरा गरेको पाइदैनन् ।

एउटा बेञ्चमा दुई जना विद्यार्थी मात्र राखिए पनि उनीहरूले मास्कसमेत लगाएका छैन भने विद्यालयले सेनिटाइजरको व्यवस्थापन समेत गरिएको छैन ।

सूर्योदयका प्रअ तुम्बापोले मास्क र सेनिटाइजर व्यवस्थापनका लागि नगरपालिका र वडाकार्यालयलाई भनेको तर, यसको व्यवस्था नगरिदिएको बताए ।

‘गाउँको स्कुल हामीसँग स्रोत छैन । आफैं सेनिटाइजर र मास्क किन्न सक्दैनौँ,’ उनले भने–‘ सुरुमा त विद्यार्थीले मास्क लगाउँदै आउँथे । अहिले एक÷दुई जनाले मात्र लगाउँछन् ।’

तर, नगरपालिकाको शिक्षा शाखाले भने सबै मापदण्ड पूरा गरेर विद्यालयले विद्यार्थीलाई पढाइरहेको दाबी गरेको छ । शाखा प्रमुख सुरेन्द्र दाहालले विद्यार्थीले सेनिटाइजर मास्क प्रयोग गरिरहेको दाबी गरे ।

यता शिक्षा समन्वय इकाई झापाले भने विद्यालय सञ्चालनबारे जानकारी नभएको जनाएको छ । इकाई प्रमुख जयप्रसाद महतले विद्यालय स्थानीय तह मातहत भएकाले कार्यालयलाई जानकारी नभएको बताए ।

प्रकाशित : असार ३०, २०७७

प्रतिक्रिया दिनुहोस्