अध्यक्षद्वय ओली र प्रचण्डको एकलौटी निर्णय मान्य नहुने : नेता खनाल



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा आउनुपर्ने अडान दोहोर्याएका छन् ।

नेकपा भित्र शक्ति संघर्षको किचलोले पार्टी नै विभाजन हुने खतरा देखिएपछि समाधानका लागि अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आन्तरिक छलफलमै रहेका बेलामा वरिष्ठ नेता खनालले आफ्नो पुरानो अडान पुनः दोहोर्याएका छन् ।

साहना प्रधान प्रतिष्ठानले सोमबार आयोजना गरेको ‘नेकपाको आजको समस्या के हो ? सम्भावना के हो ?’ भन्ने भर्चुअल छलफलमा आफ्नो धारणा राख्दै पूर्वप्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता खनालले यस्तो बताएका हुन् ।

सरकार र पार्टी सञ्चालनमा प्रधानमन्त्री ओली असफल रहेको भन्दै नेकपा सचिवालय र स्थायी कमिटीका बहुमत सदस्यले दुबै पदबाट राजिनामा दिनुपर्ने माग गरेका गर्दै आएका छन् । तर, नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले यि दुबै पदबाट राजीनामा नदिने अडानमा छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय खनाल, माधवकुमार नेपाल उपाध्यक्ष वामदेव गौतम, सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ सहित स्थायी कमिटीका बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट ओलीले राजीनामा दिनुपर्ने अडानमा छन् ।

प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने आफ्नो पूर्व अडान कायम नै रहेको बताउँदै खनालले ओलीले राजीनामा नदिए नेकपाको जनमत समाप्त हुने बताए ।

‘यो सरकार पाँच वर्ष चल्ने हो भने नेकपा ‘रुट आउट’ हुन्छ । नेकपाको जनमत समाप्त हुन्छ’ खनालले भने, ‘अहिले नै आधा जनमत खुम्चिसकेको छ । जताततै सरकारको विरोध बढेको छ । एकपछि अर्को अनियमिततालाई सरकारले नियन्त्रण गर्न सकेको छैन । प्रधानमन्त्रीले कतै केही भएको छैन भन्दै आउनुभएको छ । यसरी जाँदा भविष्य अन्धाकार हुने देखिन्छ ।’

अहिलेको अवस्थामा पार्टीमा फटुने हो कि भनेर प्रधानमन्त्री ओलीबाट त्रसित भएर बस्नुपर्ने अवस्था आएको उनले बताए । नेकपाले ल्याएको झण्डै दुई तिहाइको जनमत ओली सरकारका कारण अगामी निर्वाचनमा घटने निष्कर्ष खनालको रहेको छ ।

वरिष्ठ नेता खनालले अध्यक्षद्वयले गरेको एकलौटी निर्णय आफूलाई मान्य नहुने बताए । पार्टीका समस्याबारे स्थायी कमिटी बैठकमा छलफल हुनुपर्ने बताउँदै ‘वान टु वान’ वार्ताबाट निस्किएको निष्कर्ष आफूहरुले स्वीकार नगर्ने उनले वताए । अनावश्यक रुपमा स्थायी कमिटी बैठक स्थगित गरेर दुवै अध्यक्ष पार्टीको विधि र विधानअनुसार नचलेको आरोप उनले लगाए ।

बैठक भन्दा बाहिरबाट सोलुसन निकाल्ने कुराहरु पार्टीको निम्ति मान्य नहुने बताउँदै उनले बैठकलाई स्थगित गरेर छुट्टाछुट्टै बैठक गर्ने, विभिन्न गुटका बैठक गर्ने कामले समस्या समाधान नहुने बताए ।

त्यस्तै नेता खनालले स्थायी कमिटी बैठक आफू खुसी स्थगित गरे ओली र दाहालका लागि दुर्भाग्य हुने चेतावनी दिएका छन् । ‘यो बैठक नियमित हुनुपर्छ । प्रधानमन्त्रीसहित नेताहरु बैठकमा सहभागी हुनुपर्छ । यो बैठक ऐतिहासिक बैठक हो । बैठकमा बृहत छलफल हुनुपर्छ’, उनले भने, ‘यो बैठकमा बसेर सबै नेताहरुले बैठकको सामना गर्न सक्नुभएन भने आफ्नै लागि दुर्भाग्य निम्त्यिाउनु बाहेक केही देख्दिन ।’

प्रकाशित : असार ३०, २०७७

प्रतिक्रिया दिनुहोस्