मेलम्ची खानेपानी आयोजनाको बाँध फुट्यो, दुई जना बेपत्ता २ घाइते



काठमाडौंः आज (मंगलबार) मध्यान्ह साढे १२ बजेतिर मेलम्ची खानेपानी आयोजनाको मुहान टनेलको ढोका एक्कासि फुटेको छ ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं.१ अम्बाथानमा रहेको टनेलको ढोका फुटेको हो । सुरूङभित्रबाट पानीको भेल आएपछि सुरूङभित्रबाट आएको भेलमा रातो हाइलक्स गाडी पनि बगाएर ल्याएपछि प्रत्यक्षदर्शीले सुरक्षा निकायलाई खबर गरेका थिए ।

त्यहाँ पुगेका सुरक्षाकर्मीले भेलबाटै २ जनाको उद्धार गरेका छन् । भने गाडीभित्र रहेका इञ्जिनियर र चालक अझै हराइरहेको प्रहरीको भनाइ छ ।

मेलम्ची खोलाको पानी सुरूङभित्र पठाइएको ठाउँभन्दा करिब एक हजार मिटरको दूरीमा टनेल नं.१७ को ढोका फुटेर आएको भेलले इञ्जिनियर २७ वर्षीय सतिस गोइत र चालक ५६ वर्षीय राधाकृष्ण थापा बेपत्ता भएका छन् ।

घाइते इञ्जिनियर शेखर खनाल र प्राविधिक पेमादोर्जे तामाङको हेलिकप्टरबाट उद्धार गरी काठमाडौंस्थित ग्रान्डी अस्पताल ल्याइएको छ ।

घटनास्थल पुगेका हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले अम्बाथान टनेलको गेट एक्कासि फुट्दा सुरूङभित्र जम्मा भएको पानीले गाडी बगाएर मेलम्ची खोलामा पुर्याएको बताए ।

सुरुङ छेउ मेलम्ची खोलामा रातो हाइलक्स गाडी पानीभित्र देखिए पनि त्यहाँ इञ्जिनियर र चालक नभेटिएको उनले जानकारी दिए । बेपत्ताहरूको खोजीमा नेपाली सेना र नेपाल प्रहरी परिचालन गरिएको छ ।

सुरूङभित्र पानी परीक्षणको अवस्था हेर्न गएका इञ्जिनियरसहितको टोली बेपत्ता भएको हो । ‘टनेल फुट्दा ड्याम्म आवाज आएको रहेछ,’ प्रत्यक्षदर्शीलाई उदृत गर्दै उनले भने, ‘एकैछिनमा मान्छे र रातो गाडी बगाउँदै ल्याएको देखेका रहे छन् ।’

यसअघि असार २१ गते मेलम्चीमा मुहानदेखि ८ सय मिटरसम्म सुरूङमा पानी पठाएर सफल परीक्षण गरिएको थियो । १७ नं.टनेलबाट सुन्दरीजलसम्म पानी खसाल्न मेलम्चीको पानी सुरूङभित्र केही दिनदेखि जम्मा गरिएको थियो ।

अम्बाथानमा दुई वटा टनेलमध्ये एउटाको ढोका अकस्मात् खुलेर संकलित पानी तीव्र बेगले सुरूङबाहिर निस्केको उनले बताए । सुरूङभित्र पानी संकलन हुँदा त्यसको चापले टनेलको ढोका फुटेको हुन सक्ने उनको भनाइ छ ।

आयोजनाले करिब २७ किलोमिटर सुरूङभित्र पानी भरिन करिब २० दिन लाग्ने अनुमान गरेको थियो । पहिलो दिन ८ सय मिटरसम्म सफल परीक्षण गरिएको थियो । सुरूङ परीक्षणका लागि १० दिनदेखि मेलम्ची खोलाको पानी सुरूङभित्र पठाइएको थियो । हावाको चापका कारण टनेल फुटेको हुन सक्ने आयोजनाले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्