प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक र कसैको भावनामा ठेस पुर्‍याउन होइन : परराष्ट्र



काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मबारे सोमबार दिएको अभिव्यक्तिप्रति नेपाल र भारतबाट टिकाटिप्पणी र आलोचना भएपछि पराराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भनाई राजनीतिक विषयसँग सम्बन्धित नभएको जनाएको छ । प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग र कसैको भावनामा ठेस पुर्‍याउने आशयमा व्यक्त नभएको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ ।

भानु जयन्तिको अवसरमा सोमबार प्रधानमन्त्री ‌ओलीले बालुवाटारमा आयोजित कार्यक्रममा राम नेपालकै भएको र रामको जन्मभूमि अयोध्या नेपालको ठोरीमा रहेको दाबी गरेका थिए । जसलाई लिएर प्रधानमन्त्रीको नेपालमा र भारतमा आलोचना भइरहेको छ ।

परराष्ट्रको विज्ञप्तिमा लेखिएको छ, ‘श्रीरामको जन्मभूमिलाई लिएर विभिन्न पौराणिक कथाहरू रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आफ्नो अभिव्यक्तिमा रामको जन्मभूमिको बारेमा थप अध्ययन र अनुसन्धानमा जोड दिन उक्त धारणा व्यक्त गर्नुभएको थियो ।’

प्रधानमन्त्रीले रामले उपस्थिति जनाएको ठूलो सांस्कृतिक भूभाग र धनी सभ्यताको थप अध्ययन तथा अनुसन्धान हुनुपर्नेमा जोड दिएको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘प्रधानमन्त्रीको अभिव्यक्ति भारतको अयोध्याको विशेषता र सांस्कृतिक महत्त्वलाई अवमूल्यन गर्नको लागि नभएको’ परराष्ट्रले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

परराष्ट्रले सांस्कृतिक परम्पराअनुसार विवाह पञ्चमीको दिन भारतको अयोध्याबाट नेपालको जनकपुरसम्म हरेक वर्ष विवाह आउने गरेको स्मरण गराएको छ । हरेक वर्ष विवाह पञ्चमीका दिन भारतको अयोध्याबाट सीताको जन्मभूमि नेपालको जनकपुरमा जन्ति आउने परम्परा छ । प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २०१८ मे मा जनकपुर-अयोध्या यात्रु बस सेवालाई महत्त्वका साथ उद्घाटन गरेको परराष्ट्रले स्मरण गराएको छ । उसले नेपाल र भारतका जनताबीचको सांस्कृतिक सम्बन्धलाई नेपालले महत्त्वका साथ लिएको पनि जनाएको छ ।

प्रधानमन्त्री ओलीको अभिव्यक्तिको सत्तारुढ नेकपाका नेताहरूले नै आलोचना गरिरहेका छन् । उनको अभिव्यक्ति पदीय जिम्मेवारी र कूटनीतिक मर्यादाअनुसार नआएको उनीहरूको भनाइ छ ।कान्तिपुर दैनिकबाट

प्रकाशित : असार ३१, २०७७

प्रतिक्रिया दिनुहोस्