हङकङप्रतिको अमेरिकी विशेष व्यवहार अन्त्य गरिएको ट्रम्पको घोषणा



एजेन्सी : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हङकङलाई दिइएको विशेष हैसियत अन्त्य गर्ने एउटा आदेशमा हस्ताक्षर गरेका छन् । उनले चीनविरूद्ध बढ्दो रूपमा कडा नीति अँगाल्ने गर्ने क्रममा पछिल्लो कदम चालेका हुन् ।

वासिङ्टनमा आयोजित एक पत्रकार सम्मेलनमा उनले हङकङको स्वतन्त्रतालाई मेटाउने सबै व्यक्ति र निकायलाई त्यसप्रति जिम्मेवार ठहर्‍याइने बनाए ।

“हङकङलाई अब मुख्यभूमि चीनजसरी नै व्यवहार गरिनेछ,” ह्वाइटहाउसमा पत्रकारहरूलाई उनले भने ।

यसैगरी ट्रम्पले हङकङमा मानव अधिकार हनन गर्ने चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाउन मिल्ने एउटा विधयेकमा समेत हस्ताक्षर गरेको बीबीसीले जनाएको छ ।

यसै महिनाको सुरुमा अमेरिकी संसद्‍बाट एकमतले पारित भएको उक्त विधेयक अब कानुन बनेपछि हङकङसँग व्यापार गर्दा दिइने विशेष सुविधालाई अन्त्य गरिनुका साथै ब्याङ्कहरूमाथि प्रतिबन्ध लगाउने अधिकार दिनेछ ।

पछिल्ला साताहरूमा अमेरिकाले हङकङलाई दिइएको विशेष हैसियतबारे निर्णय रोकिराखेको थियो । मंगलबार ट्रम्पले भने : ‘अब कुनै विशेष सुविधा, विशेष आर्थिक व्यवहार र संवेदनशील प्रविधिको आपूर्ति हुनेछैन ।’

बीबीसीका अनुसार सोही पत्रकार सम्मेलनमा ट्रम्पले आफ्नो प्रशासनले असमान व्यापार, अभ्यास र मानव अधिकारजस्ता विषयमा चीनविरूद्ध कडा कदमहरू चालेको बताए । उनले चीनले विश्वमा कोरोनाभाइरस छाडेको आरोप समेत लगाए।

ब्रिटेनले आफ्नो फाइभ जी मोबाइल नेटवर्कमा चिनियाँ प्रविधि कम्पनी ह्वावेईका सामग्री प्रतिबन्ध लगाउन गरेको निर्णयको श्रेय ट्रम्पले स्वयं लिएका छन् ।

उक्त प्रविधिमा रहेका सुरक्षा जोखिम आफूले ब्रिटेनलाई प्रस्ट पारेको उनको भनाइ थियो । ब्रिटिश सरकारले जोखिमको पुनर्समीक्षा गरेपछि यस्तो कदम लिइएको जनाएको छ । तर, ह्वावेईले त्यो सबै अमेरिकी नीति रहेको भन्दै त्यसले ब्रिटेनलाई सुस्त डिजिटल बाटोमा धकेल्ने जनाएको छ । एकजना पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग कुरा गर्ने आफ्नो कुनै योजना र रुचि नभएको बताए ।

प्रकाशित : असार ३१, २०७७

प्रतिक्रिया दिनुहोस्