विद्यालय नखुल्दा पाठ्यपुस्तक विक्रीमा भारी गिरावट



अमृत सापकोटा/रौतहट : लामो समयको लकडाउनका कारण बन्द भएको शैक्षिक संस्थाहरु सञ्चालनमा नआउँदा रौतहट जिल्लामा पाठ्यपुस्तक सामग्रीको विक्री न्यून भएको छ । यसपटक विद्यालयका पाठ्य सामाग्रीको विक्रीमा भारी गिरावट आएको छ जसका कारण यस्ता सामग्री मौज्दातमा राख्नुपरेको रौतहटका पुस्तक व्यवसायीको गुनासो रहेको छ । गत सालको तुलनामा यस शैक्षिक शत्रमा झण्डै ८० प्रतिशत कम पाठ्यपुस्तक विक्री भएको व्यवसायीहरुले बताएका छन् ।

नया शैक्षिक शत्र शुरु भए पनि केहि संस्थागत विद्यालयमा अनलाईन कक्षाबाट पठनपाठन हुँदै आएको र सामुदायिक विद्यालयका विद्यार्थीहरुले समेत पाठ्यपुस्तक प्रयोग नगर्दा यी सामग्रीको कारोबारमा कमी आएको हो । अन्य पुस्तकहरु केही मात्रामा विक्री भएपनि विद्यालयका पाठ्यसामाग्रीको विक्री न्यून छ । ज्ञानसागर स्टेसनरी तथा जिल्ला पुस्तक व्यवसायी बिशालजित तामाङका अनुसार हाल उनको पसलमा गत साल विद्यालयका सम्पूर्ण पाठ्यपुस्तक विक्री भएपनि यसपटक ३० देखि ३५ प्रतिशत पुस्तक मात्र विक्री भएको छ । निजी विद्यालयका पुस्तक किन्न ग्राहक आउँछन उनले भने तर जति आउनुपर्ने हो त्यस्तो उपस्थिति छैन ।

रौतहटमा लकडाउन अगाडि कुनै पनि कक्षाहरुको परीक्षा भएको थिएन तर लकडाउन चाडै खुकुलो हुने आशामा व्यवसायीहरुले उल्लेखनीय मात्रमा किताब र स्टेशनरी सामान खरीद गरी बिक्रीका लागि तयारी अवस्थामा थिए । तर लकडाउन लम्बिदै गए पछि विद्यालय खुल्न नसक्दा उनीहरुको पाठ्य सामग्री बिक्री नभएको हो ।

संस्थागत विद्यालयका किताब विक्री ठप्प भए पनि लगभग जिल्लाका आदि सामुदायिक विद्यालयमा भने किताब विक्रीवितरण भइसकेको छ। हाल केहि संस्थागत र केही सामुदायिक विद्यालयले अनलाईन कक्षा सञ्चालन गरेको हुनाले पनि विद्यार्थीहरुलाई पाठ्यपुस्तक आवश्यकता त्यति पर्दैन । नेपाल पुस्तक तथा स्टेशनरी महासंघ, रौतहट शाखाका अध्यक्ष माधब श्रेष्ठ विद्यालय सञ्चालनमा नआउँदा आफ्ने पसलमा मुस्किलले १५ देखि २० प्रतिशत मात्र पाठ्यपुस्तक मात्र विक्री भएको बताउँछन । यो महामारीमा कापीकिताब प्राथमिकतामा नै पर्दैन उनले भने लकडाउनका कारण अधिकांश अभिभावकको शैक्षिक चासोमा पनि कम भएको छ । सरोकार निकायसँग छलफल गरेर निकास निकाल्ने प्रयास भएपनि विद्यालय नखुल्दासम्म किताबको विक्री नहुने श्रेष्ठले बताए ।

लकडाउनको अवधि कम होला र विद्यालयहरु छिटै नै शुरु होलान भन्ने आशाले जिल्लाका सबै जसो व्यवसायीले लाखौं लगानी गरेर पाठ्य तथा स्टेशनरी सामग्री खरीद गरेपनि विक्री नहुँदा थन्क्याउनु पर्ने अवस्था छ । विद्यालय तथा कलेजलाई चाहिने अन्य स्टेशनरी सामान पनि विक्री नभएका कारण पनि थप मार परेको व्यवसायीहरुको भनाइ रहेको छ । विद्यालयहरु नखुलेपनि जिल्लाका सबै सामुदायिक विद्यालय जिल्लामा वैशाख २२ देखि सामुदायिक विद्यालयमा पुस्तक वितरण कार्य थालिएको थियो । जिल्लामा हाल संस्थागत विद्यालय ३१५ वटा छन् भने डेढ सयको हाराहारीमा सामुदायिक विद्यालय रहेका छन् ।

प्रकाशित : असार ३१, २०७७

प्रतिक्रिया दिनुहोस्