इथियोपियाली र इन्डोनेसियाली विमान दुर्घटनापछि चीनले सबै बोइङ ७३७-८ को उडान रोक्यो 



एजेन्सीः चीनको नागरिक उड्डयन विभागले आफ्ना सबै वायु सेवा कम्पनीलाई बोइङ ७३७–८ विमानको व्यापारिक उडान बन्द गर्न निर्देशन दिएको छ। विभागले इथियोपियन एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ विमान दुर्घटनाग्रस्त भएको एक दिनपछि सोमबार यस्तो निर्देशन दिएको हो। दुर्घटनामा विमानमा रहेका सबै १ सय ५७ जनाको मृत्यु भएको थियो। 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)मा कार्यरत नेपाली एकता अधिकारीको पनि उक्त दुर्घटनामा मृत्यु भएको थियो। विभागले स्थानीय समयअनुसार सोमबार साँझ ६ बजेसम्म सबै बोइङ ७३७–८ का व्यापारिक उडान रोक्न भनेको छ। 

त्यसैगरी इन्डोनेसियाको लायन एयरको यही मोडलको बोइङ ७३७ विमान जकार्ताबाट उडेको केही मिनेटमा नै जाभा समुद्रमा खसेको थियो। गत अक्टोबरमा भएको दुर्घटनामा विमानमा रहेका सबै १ सय ८९ जनाको मृत्यु भएको थियो। 

‘बोइङ ७३७–८ मोडलका उस्तै दुई नयाँ विमान नै उड्ने क्रममा दुर्घटनामा परेपछि तत्कालका लागि उडान रोकिएको हो’, चिनियाँ नागरिक उड्डयन विभागले हवाई सुरक्षा मापदण्डमा शून्य सहनशीलताको नीति उद्धृत गर्दै भनेको छ। इथियोपियाली एयरलाइन्सले पनि उडान रोक्यो ।

उता इथियोपियन एयरलाइन्सले आफ्ना सबै बोइङ ७३७ म्याक्स ८ विमानको उडान सोमबार तत्काल रोकेको छ। एयरलाइन्सले ट्विटरमा उल्लेख गरेको छ, ‘हामीले अहिलेसम्म पनि दुर्घटनाको कारण थाहा नपाए पनि केही विशेष विमानको उडान सुरक्षाका कारण रोकेका छौं।’ यसमा दुर्घटनामा परेको विमान बाहेक नै एयरलाइन्ससँग ४ वटा बोइङ ७३७ म्याक्स ८ विमान छन्

प्रतिक्रिया दिनुहोस्