महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन हुनुपर्छ : कांग्रेस नेता सिंह



काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औँ महाधिवेशनबाट नेतृत्व परिवर्तन हुनुपर्ने बताएका छन् । पार्टीको १४औँ महाधिवेशन आगामी फागुन ७ गतेदेखि शुरु हुँदैछ ।

समृद्धि अभियान सञ्चालन गर्न सक्ने नेतृत्व पार्टीलाई आवश्यक परेको बताउँदै उनले आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुनुपर्छ भनेर आफूहरू लागिपरेको बताए ।

बुधबार ठमेलको चाक्सीबारीस्थित निवासमा आयोजित पार्टी प्रवेश कार्याक्रममा कांग्रेस नेता सिंहले भने–‘हाम्रो महाधिवेशन फागुनमा छ । नेतृत्व परिवर्तन हुनुपर्छ भनेर हामी लागिरहेका छौं ।’

पूर्वमहामन्त्री सिंहले कम्युनिष्टहरुले समृद्धि अभियान अगाडि नबढाएको भन्दै अब कांग्रेसले समृद्धि अभियान अगाडि बढाउने बताए । त्यसका लागि नेतृत्व परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा ठमेल क्षेत्रका २७ जनालाई नेता सिंहले अबिर लगाइदिएर र काठमाडौं जिल्ला अध्यक्ष सबुज बानियाँले खादा लगाइदिएर पार्टीमा स्वागत गरेका थिए ।

प्रकाशित : असार ३१, २०७७

प्रतिक्रिया दिनुहोस्