मेलम्ची खानेपानीको सुरुङ निर्माणमा कमसल सिमन्टको प्रयोग गरिएको आशंका



काठमाडौं : राष्ट्रिय गौरवको परियोजना मेलम्ची खानेपानी आयोजनामा कमसल सिमेन्टको प्रयोग गरिएको पाइएको छ । काठमाडौं उपत्यकामा दैनिक १७ करोड लिटर पानी आपूर्ति गर्ने लक्ष्य लिएको आयोजनाको सुरुङ निर्माणमा मापदण्डविपरीतको सिमेन्ट प्रयोग भएको पाइएको हो ।

मंगलबार मध्यान्ह १२ बजेर ३० मिनेटमा परीक्षणका लागि सुरुङमा हालेको पानीको दवाव थेग्न नसकेर १७ नं. गेट फुटेपछि यस्तो आशंका भएको थियो । सुरुङ निर्माण गर्दा अल्कालीको मात्रा बढी भएको सिमेन्ट प्रयोग गरिएको हो ।

गेट फुटेपछि निरीक्षणका लागि मुहानस्थल अम्बाथाङ पुगेर सुरुङ अवलोकन गरेका हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले सुरुङको ५० मिटरजति भागमा जताततैबाट पानी चुहिएर बाहिर निस्केको बताए ।

‘भित्री सुरुङ नै कमजोर भएको पाएँ, सुरुवातमै यस्तो छ भोलि त के होला ?’ प्रश्न गर्दै शेर्पाले भने, ‘गेट मात्रै फुटेको होइन, सुरुङ नै भत्केको छ ।’

मेलम्ची खानेपानी आयोजनाको बाँध फुट्यो, दुई जना बेपत्ता २ घाइते

अल्कालीको मात्रा शून्य दशमलव ६ भन्दा तलको सिमेन्ट मात्रै प्रयोग गर्न सकिने इन्जिनियरिङ स्पेसिफिकेसनमा स्पष्ट उल्लेख गरिएको छ । तर, बीचैमा काम छोडेर भागेको इटालियन ठेकेदार कम्पनी कोअपरेटिभ मुरातोरी सिमेन्तेस्टी दी रेभेना (सिएमसी) ले मापदण्डविपरीत अल्कालीको मात्रा शून्य दशमलव ६ भन्दा माथिको सिमेन्ट सुरुङ निर्माणमा प्रयोग गरेको हो ।

सिएमसीले लामो समयदेखि सुरुङमा अर्घाखाँची सिमेन्ट प्रयोग गर्यो । तर, ल्याब टेस्टमा फेल भएपछि सो सिमेन्टलाई रद्द गरेर सगरमाथा सिमेन्ट प्रयोगमा ल्याएको थियो ।

ल्याब टेस्ट गर्दा सगरमाथा सिमेन्टमा अल्कालीको मात्रा शून्य दशमलव ७१ देखिन आएकोले फेरि अर्घाखाँची सिमेन्ट नै प्रयोग गरेको इप्टिसा कन्सल्टेन्सीका सहायक प्रमुख प्रद्युम्नलाल प्रधानले जानकारी दिएका थिए ।

प्रकाशित : असार ३१, २०७७

प्रतिक्रिया दिनुहोस्