सहिद गोविन्द गौतमको स्मृतिसभा, आमाबुवा सम्मानित



कैलाली : बुढेसकालमा छोराबुहारी सँगै बसुन्, स्याहारसुसार गरून्, भनेर कुन आमाबुवाको सपना नहोला र? तर कतिपयका सपना पूरा हुन्छन् त कतिका सपनामै सीमित हुन्छन्।

 

यस्तै एउटा दुःखद कथा छ कञ्चनपुरको पुनर्वास नगरपालिका–४ का एक सहिद परिवारको। खिमलाल गौतम र हरिदेवीका माहिला छोरा गोविन्द गौतम मातृभूमिको रक्षा गर्दा २ वर्ष पहिले सहिद हुन पुगे। 

पुनर्वास नगरपालिका–४ आनन्द बजारमा भारतीय पक्षले नेपाली भूभागमा कल्र्भट निर्माण गरेको विषयमा विवाद हँुदा ०७३ साल फागुन २६ गते भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली लागेर गौतम मारिएका थिए। 

सहिद गौतमको परिवारमा पत्नी, २ छोरी, आमाबुवा, दाजुभाउजु र भाइबुहारी छन्। ३ वर्ष खाडी मुलुकमा काम गरेर स्वदेश फर्कनासाथ छोरो नेपाली भूमिमै भारतीयको गोलीबाट मारिँदा गौतम परिवारमा बज्रपात नै भयो। उनको बलिदानले गुम्न लागेको नेपाली भूमि जोगियो।

गौतमको हत्यापछि विभिन्न संघसंस्था, राजनीतिक दलले आर्थिक सहयोग गरे भने सरकारले उनलाई सहिद घोषणा ग¥यो। दुवै छोरीलाई निःशुल्क पढाउने, पत्नीलाई रोजगारी दिने जस्ता धेरै आश्वासन दिनेको पनि कमी थिएन। 

फागुन २६ गते आज गौतम सहिद भएको २ वर्ष पूरा भएको छ। छोराको हत्या भएपछि यतिसम्म दुःख पाइएला भन्ने कल्पना समेत नगरेका गौतमका आमाबुवाको २ वर्षमै बिचल्ली भएको छ। 

‘छोराको एउटा श्राद्ध नहुँदै मलाई यो घरमा बस्न मनै छैन टाढा गएर बस्छु भन्ने बुहारीले भनिन्’, बुबा खिमलालले भने, ‘हामीलाई बुढेसकालमा पाल्नु पर्दैन कम्तीमा एउटा श्राद्ध गरेपछि जानु भन्दाभन्दै पनि नमानेर बुहारी अलग बसिन्।’ उनले छोरा मारिएपछि आएको सबै रकम बुहारीले लगेर अलग्गै बस्न थालेकाले गाउँघरमा मागेर घरखर्च चलाउन गुजारा गरिरहेको बताए।  

बुहारीले दुवै नातिनीलाई आफूसँग छाडेर गएपछि स्कुलको खर्च धान्न निकै कठिन भएको उनले सुनाए। ‘हामी बुढाबुढीलाई सन्चो बिसन्चो त बुहारीले सोध्न परै जाओस्, २ नातिनीको समेत कुनै हेरचाह गरेकी छैन’, खिमलालले दुखेसो पोखे। 

‘छोरा गोविन्द सपनामा झलझली आउँछ’, खिमलालले भने, ‘सपनीमै आएर भए पनि छोराले आफूलाई सन्चो बिसन्चो सोध्छ। लामो कुरा गर्दै भन्छ–यस्तो होला भन्ने सोचेकै थिइँन।’ उनले जेठो छोराबुहारी भारतको बेङलोरमा बस्ने र कान्छो छोरा पनि भारतमै मद्रासमा मजदुरी गरिरहेको बताए। 

गोविन्दले बनाउन थालेको घर अझै अधुरो नै रहेको आमा हरिदेवीले सुनाइन्। ‘छोरा ढलेको ठाउँमासालिक बनेको भए त्यै हेरेर बस्थेँ’, उनले दुखेसो पोखिन्, ‘छाड्नेले त छोडेर गइसके भएकाले पनि हेर्दैनन् बुहारीको गति त्यही हो।’ सहादत प्राप्त गरेका गोविन्दको सम्झनामा आज स्मृतिसभा आयोजना गरिएको छ । 

गोविन्दको हत्यापछि बन्द रहेको आनन्द बजार बसही नाका अझै सुचारु हुनसकेको छैन। घटनास्थल छेउछाउबाट भारततर्फ आवतजावत गर्दै घरायसी सामान किनमेल गर्न थालिए पनि नाका खोल्न कुनै पहल भएको छैन। 

आनन्द बजार र सीमावर्ती भारतीय बसही बजारका व्यापारी नाका सुचारु गर्नुपर्ने बताउँछन्। सहीद गौतमको तेस्रो स्मृतिसभामा बुबा खिमलाल र आमा हरिदेवीलाई सम्मान गरियो। पत्नी सुशीला भने परिवारसँग कुनै सम्पर्क नभएको र सुनेअनुसार काठमाडौं गएको आमा हरिदेवीले बताइन्।

प्रतिक्रिया दिनुहोस्