साउनदेखि विद्यालय सञ्चालन गर्न पाउनुपर्ने नेपाल प्याबसनको माग



जनकपुरधामः नेपाल निजी तथा आवासीय विद्यालय संगठनले साउनदेखि विद्यालय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् ।

कारोनाको जोखिमका कारण चैतदेखि विद्यालयहरु बन्द भएपछि शुल्क उठाउन नपाउँदा शिक्षक कर्मचारीहरुलाई तलब खुवाउन पनि समस्या भएको भन्दै विद्यालय सञ्चालन गर्न दिनुपर्ने माग गर्दै नेपाल निजी तथा आवासीय विद्यालय संगठनले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाएको छ ।

नेपाल प्याबसनका नगर अध्यक्ष पंकज ठाकुरको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा शसर्त मापदण्ड कायम गरि कार्ययोजना बमोजिम विद्यालय सञ्चालन गर्न पाउनुपर्ने, बन्दाबन्दी अवधिसम्मको घरभाडा रकम छुट पाउनुपर्ने, विद्यालय सञ्चालन तथा शिक्षकको तलब व्यवस्थापन गर्न सहुलियत दरमा विना धितो बैंकबाट ऋण उपलब्ध गर्न सिफारिस गरिदिनुपर्ने, विद्यालयलाई आवश्यक राहत उपलब्ध गराईदिनुपर्ने, विद्यालयमा कार्यरत शिक्षकलाई विद्यालयको सिफारिस बमोजिम बिना धितो सहुलियत दरमा आवश्यक ऋण बैंकबाट उपलब्ध गर्न सिफारिस गरिदिनुपर्ने, बन्दाबन्दी अवधिको विद्यालयलाई तिर्नुपर्ने कर, विद्यालयको ऋण व्याज, सवारी साधन खरिदको बैंकलाई तिर्नुपर्ने ब्याज तथा विद्युत, सञ्चारलगायत अन्य जरिवानामा छुट पाउनुपर्ने माग गरिएको छ ।

अहिले अन्य निकायहरु आंशिक रुपमा सञ्चालनमा आएपनि निजी विद्यालयहरुको बन्दाबन्दीका कारण शिक्षक, कर्मचारी तथा सञ्चालकहरुको व्यक्तिगत जिवन पनि कष्टकर बन्दै गईरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । सरकारले निजी विद्यालयलाई सौतेलो व्यवहार गरेको गुनासो गर्दै आफुहरुको मागलाई उपमहानगरपालिकाले साउन १५ गतेसम्म कार्यान्वयन नगरे आन्दोलनमा जानसक्ने चेतावनी समेत विज्ञप्ती मार्फत दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्