मेक्सिको सीमामा पर्खाल लगाउन ट्रम्पले फेरि मागे साढे ८ अर्ब डलर



एजेन्सी, वासिङटन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल बनाउन ८ अर्ब ६० करोड अमेरिकी डलर मागेका छन्। उनले उक्त बजेट उपलब्ध गराउन कंग्रेससमक्ष आग्रह गरेका छन्। बजेट मागेसँगै राष्ट्रपति ट्रम्प–कंग्रेसबीच फेरि द्वन्द्व बढ्ने सम्भावना बढेको छ। राष्ट्रपति ट्रम्पले सोमबार सन् २०२० को बजेट सार्वजनिक गर्दै छन्। 

उनले गत वर्ष ५ अर्ब ७० करोड अमेरिकी डलरभन्दा यो निकै बढी हो। यसअघि पर्खाल बनाउने मागेको बजेट कंग्रेसले सहमति नहुँदा सरकारी कार्यालय ३५ दिन आंसिक बन्द भएका थिए। डेमोक्रेटिक पार्र्टीबाट सभामुख न्यान्सी पेलोसी र सिनेटमा डेमोक्रेटिक नेता चक समर दुवैले राष्ट्रपतिको मागमा असहमति जनाइसक्नु भएको छ। 

दुवैले राष्ट्रपति ट्रम्पले जबर्जस्ती गरे कंग्रेसले बजेट नै अस्वीकृत गर्ने चेतावनी दिएका छन्। ह्वाइट हाउसका आर्थिक सल्लाहकार ल्यारी कुड्लोले नयाँ प्रस्तावबाट संसद्मा फेरि विवाद चर्कन सक्ने स्विकारे। ‘मलाई लाग्छ संघर्ष फेरि चर्किन्छ।’ तर उनले राष्ट्रपति ट्रम्प चुनावी वचनबद्धताप्रति अझै अडिग रहेको बताए। ‘उहाँ सीमामा पर्खाल लगाउन र सीमा सुरक्षा कडा पार्न प्रतिबद्ध हुनुहुन्छ’, कुड्लोले भने। 

यतिबेला कंग्र्रेसमा डेमोक्रेटिक पार्र्टीको बहुमत भएकाले ट्रम्पको प्रस्ताव पारित हुने सम्भावना अत्यन्त न्यून छ। न्यान्सी पेलोसी र चक समरले जारी गरेको संयुक्त वक्तव्यमा अति खर्चिलो र प्रभावकारी नहुने पर्खाल निर्माणको निहुँमा राष्ट्रपति ट्रम्पले लाखौं अमेरिकीको चित्त दुखाएको आरोप लगाएका छन्। 

वासिङटन पोस्टका अनुसार राष्ट्रपति ट्रम्पको योजना गृह मन्त्रालयबाट ५ अर्ब र रक्षा मन्त्रालयबाट ३ अर्ब ६० करोड डलर छुट्याएर पर्खाल बनाउने छ। ह्वाइट हाउसका कतिपय अधिकारीले कंग्रेसले बजेट नदिए राष्ट्रपतिले यसअघि जस्तै फेरि संकटकाल घोषणा गरी विशेषाधिकार प्रयोग गर्न सक्ने बताएका छन्। 

 

प्रतिक्रिया दिनुहोस्