ट्रम्प र किमबीच तेस्रो शिखर वार्ताको सम्भावना छ : जोन बोल्टन



एजेन्सी, वासिङटन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग तेस्रो शिखर वार्ता गर्न आफू तयार रहेको बताएका छन्। 

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले आइतबार अमेरिकी टेलिभिजन च्यानल एबिसीसँग गरेको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले किमसँग व्यक्तिगत सम्बन्ध बढाउन लामो समय खर्चिएको बताउँदै दुवैबीच आपसी विश्वास अझ प्रगाढ र सुदृढ भएको दाबी गरे। 

‘किमसँग तेस्रो शिखर वार्ता गर्न ट्रम्प तयार हुनुहुन्छ तर समयतालिका भने तय भइसकेको छैन’, बोल्टनले केही समयका लागि दुई नेताबीच बिदावारी मात्र भएको बताए। 

उत्तर कोरियाको उपग्रहबाट तस्बिरबारे सोधिएको प्रश्नमा बोल्टनले कुनै एउटा व्यावसायिक उपग्रहका तस्बिरका आधारमा आफूले अनुमान गर्न नसक्ने स्पष्ट गरे। 

उत्तर कोरियाले रकेट प्रक्षेपणको तयारी थालेको समाचारबारे अमेरिकाले उत्तर कोरियासँग कुनै सोधिखोजी नगरेको पनि उनको भनाइ थियो। केही दिनअघि राष्ट्रपति ट्रम्पले रकेट प्रक्षेपणको परीक्षण ‘साइट’ पुनर्निर्माण गरिरहेको समाचार ठीक भए निराशाजनक हुने प्रतिक्रिया दिएका थिए। 

उत्तर कोरियाले तोङचाङरी लन्च केन्द्रमा रकेट प्रक्षेपणका लागि भन्दै काम गरिरहेको समाचार अमेरिकी सञ्चारमाध्यमले दिएका थिए। अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता उनबीच गत फेब्रअरी २७ र २८ मा भियतनामको हनोइमा दोस्रो चरणको वार्ता भएको थियो। 

वार्तामा उत्तर कोरियाली आणविक निःशस्त्रीकरणबारे कुनै सम्झौता भएको थिएन। दुवैबीच कुनै सहमति नभए पनि वार्ता सकारात्मक र प्रगतिउन्मुख रहेको अधिकारीको भनाइ छ । ट्रम्प–उन पहिलो चरणको वार्ता गत वर्ष जुनमा सिंगापुरमा भएको थियो। 

वार्तामा उत्तर कोरियाले निःशस्त्रीकरणका लागि प्रतिबद्धता जनाएको थियो। अमेरिकाले उत्तर कोरियासँगको वार्तालाई निरन्तरता दिने बताउँदै आएको छ । हनोई वार्तापछि राष्ट्रपति ट्रम्पले सम्झौता नभए पनि वार्तालाई निरन्तरता दिने बताएका थिए। 

 

प्रतिक्रिया दिनुहोस्