निजी विद्यालयको स्थायित्व र स्वामित्व रक्षा गर्न मेरो उम्मेदवारी : डिके ढुंगाना



नेपाल टप काठमाडौं : निजी विद्यालय सञ्चालकको छाता संगठन प्याब्सनमा चुनावी सरगर्मी बढेको छ। राजधानीमा सोमबार सुरु हुने १४ औं महाधिवेशनका लागि उनले अध्यक्षमा उम्मेदवारी दिएका छन्।

फागुन २८ र २९ गते काठमाडौंमा हुने  केन्द्रीय महाधिवेशनबाट नेतृत्व लिने सोचाइमा रहेका उनले अध्यक्षका लागि आफू उपयुक्त रहेको दाबी गरेका छन्। ललितपुरको सानेपास्थित रेडिएन्स रिलाएबल स्कुलका सञ्चालकसमेत रहेका उनी २० वर्षदेखि प्याब्सनमा आबद्ध छन्।

साथै उनी १३औं  महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष चुनिएका थिए। उनले  प्याब्सनमा  एक कार्यकाल सचिव, दुई कार्यकाल महासचिव र वरिष्ठ उपाध्यक्षका रूपमा काम गरिसकेका छन्। चुनावको सेरोफेरोमा द नेपाल टप डटकमले तपाईंको उम्मेदवारी केका लागि भनेर सोधेको थियो।

प्रस्तुत छ उनको पाँचबुँदे जवाफ:  

        १.  निजी विद्यालयप्रति सरकारको संकुचित दृष्टिकोण  रहेकाले निजी विद्यालयको स्थायित्व र स्वामित्व रक्षाका लागि

        २.  निजी विद्यालयमा अध्यापन गर्ने शिक्षक, कर्मचारीको वृत्ति विकास र स्थायित्वका लागि

        ३.  शिक्षाका नाममा विदेसिने पुँजी नेपालमै राख्नका लागि

        ४.  सरकारले लागू गरेको १५ प्रतिशत निःशुल्क शिक्षालाई छात्रवृत्तिमै समावेश गर्नका लागि

        ५.  प्याब्सनलाई पेसागत र गतिशील संस्थामा विकास गर्नका लागि

अध्यक्ष हुने सुअवसर पाए अहिलेसम्मका सबै अनुभव उपयोग गरी प्याब्सन र निजी क्षेत्रलाई सबैले वाहवाह भन्ने वातावरण निर्माण गर्ने उनी बताउँछन्। साथै उनले दुर्गम गाउँका ससानादेखि सहरमा अन्तर्राष्ट्रिय सेवा र शिक्षा प्रदान गरिरहेका विद्यालयमा भएको लगानीको सुरक्षा गर्दै प्रवद्र्धन गर्ने नीति आफूले लिएको बताए ।

देशका ६८ जिल्लाबाट कूल दुई हजार ४३८ प्रतिनिधि सहभागी हुने महाधिवेशनमा विद्युतीय प्रणालीबाट मतदान हुनेछ । नेपालमा विसं २०३६ देखि निजी विद्यालयको थालनी भएको हो । सरकारी आँकडानुसार हाल देशभर छ हजार ५६६ निजी विद्यालय छन् ।

प्याब्सनले भने १० हजार निजी विद्यालय रहेको र छ हजार ३०० विद्यालय आफ्ना सदस्य रहेको जनाएको छ । प्याब्सनले आफूहरुसँग रु ३०० अर्बको लगानी, २० लाख विद्यार्थी र साढे दुई लाख शिक्षक कर्मचारी रहेको जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्