प्रदेश २ को समृद्धि कृषिबाट : मन्त्री साह



जनकपुरधाम : प्रदेश २ का भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेश सरकार कृषिलाई प्रविधिसँग जोडन लागिपरेको बताएका छन् । सोमबार धनुषाको लक्ष्मिनियाँ गाउँपालिकामा शीत भण्डारको शिलान्यास गर्दै मन्त्री साहले परम्परागत खेतीमा निर्भर किसानको सहजता र कृषि उत्पादन वृद्धिका लागि प्रदेश सरकारले आधुनिक यन्त्र प्रयोग सहित प्रविधियुक्त योजनामा काम गरिरहेको बताए ।

सिचाईंका लागि कोशीबाट कमला नदीमा पानी ल्याउने साहले जानकारी गराए । मन्त्री साहले प्रदेश २ को समृद्धिको मूल आधार कृषि नै रहेकोले आफूले प्राथमिकताका साथ कृषि र सहकारीलाई अगाडि बढाउन लागेको बताए । उनले मलखाद्य उत्पादनका लागि ग्लोबल टेण्डरमार्फत मलखाद्य उपलब्ध गराउने कार्यको गृहकार्य सुरु गरिसकेको जानकारी दिए ।

मन्त्री साहले कृषि उत्पादन बढाउनका लागि माटो, उन्नत जातका बिउ विजन र बाली सहितका परिक्षण प्रयोगशालाको संरचना निर्माणका कार्य अघि बढिसकेको जानकारी गराए । किसानलाई वैज्ञानिक ढंगले खेती गर्न आग्रह गर्दै मन्त्री साहले आगामी बजेटमा किसानलाई खेतीबालीका लागि १० हजार रुपैयाँको नगद सहयोग गर्ने दीर्घकालिन योजना रहेको बताएका थिए । 

प्रतिक्रिया दिनुहोस्