सशस्त्र प्रहरीसँग आफ्नो भवन नहुँदा समस्या



बैतडी : सशस्त्र प्रहरीसँग आफ्नो भवन नहुँदा समस्या भएको छ । तीन वर्ष अगाडि स्थापना भएको सशस्त्र प्रहरी बल नं ५१ गुल्म हेडक्वाटर बैतडीलाई आफ्नो भवन नहुँदा समस्या भएको हो ।

सशस्त्रको गुल्म हाल अस्थायीरुपमा सहकारी डिभिजन कार्यालयको भवनमा बसिरहेको सशस्त्र प्रहरी बल नं ५१ गुल्म हेडक्वाटर बैतडीका सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंहले बताए । उनले भने, “जग्गा प्राप्त नहुँदा आफ्नो भवन निर्माण गर्न सकिएको छैन ।”

दशरथचन्द नगरपालिकालाई जग्गाका लागि अनुरोध गरिएको भए पनि हालसम्म पनि उपलब्ध हुन सकेको छैन । सशस्त्र गुल्मका लागि कम्तीमा पनि १५ रोपनी जमिन आवश्यक पर्ने भए पनि हाल सहकारी डिभिजन कार्यालयको दुई रोपनी १३ आनामा बस्न बाध्य भएको छ । बस्नका लागि ठाउँ अभाव हुँदा तालिमलगायत कामकाजमा समस्या हुने गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहको भनाइ छ ।

विस २०७५ मा स्थापना भएको गुल्ममा हाल १५० सशस्त्र प्रहरी कार्यरत रहेका छन् । यस्तै जग्गा प्राप्त नहुँदा गत जेठ १० गते झुलाघाटमा स्थापना भएको बिओपी पनि भाडाकै भवनमा बसिरहेको छ । यसका साथै गत असार १६ गते पञ्चेश्वरमा स्थापना भएको बिओपीको लागि भने पञ्चेश्वर गाउँपालिकाले १५ रोपनी जग्गा गुल्मको नाममा सिफारिस गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्