माइभ्याली गोल्डकप : सुनीलको ह्याट्रिकमा हिमालयन शेर्पा क्वाटरफाइनमा



इलाम : हिमालयन शेर्पा क्लब इलाममा जारी पाँचौं संस्करणको माइभ्याली गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सदरमुकामको ठूलो टुँडिखेलमा सोमबार सम्पन्न खेलमा हङकङ नेप्लिज एकेडेमीलाई ५–१ को फराकिलो अन्तरले पराजित गर्दै शेर्पा अघिल्लो चरणमा प्रवेश गरेको हो ।

शेर्पाको जितमा सुनील खड्काले ह्याट्रिक गर्दा विशन गुरुङ र कप्तान मानबहादुर तामाङले एक–एक गोल गरे । पराजित टोलीका लागि समीर लिम्बूले सान्तवना गोल फर्काए । खेलको म्यान अफ् दि म्याच हुँदै ह्याट्रिककर्ता सुनीलले नगद १० हजार हात पारे ।

प्रतियोगितामा मंगलबारबाट क्वाटरफाइनलका खेल हुनेछन्। जसमा पहिलो क्वाटरफाइनलमा नेपाल पुलिस क्लब र भारत दार्जिलिङको दार्जिलिङ युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । दार्जिलिङले उद्घाटन खेलमा आयोजक माइभ्याली फुटबल क्लबलाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । पुलिसले भने बाइ पाएर सिधै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो । 

गोल्डकपमा १० टिम सहभागी छन् । चैत ५ सम्म चल्ने प्रतियोगितामा आयोजक माइभ्याली क्लबसहित साविक विजेता रुस्लान थ्रिस्टार, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बलको एपिएफ, हिमालयन शेर्पा, मेची नेत्रालय काकडभिट्टा, क्यामरुनको दाउफिन्स एफसी, दार्जिलिङ युनाइटेड र हङकङको नेप्लिज फुटबल क्लबको सहभागिता छ । प्रतियोगिताको विजेताले ७ लाखसहितको ‘मेयर्स कप’ र उपविजेताले ४ लाख रुपैयाँ पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस्