दुई महिनामै २ लाख पर्यटक 



काठमाडौं :  सन् २०१९ को दुई महिनामै २ लाख १६ हजार २१४ बाह्य पर्यटक नेपाल भ्रमणमा आएका छन् । अध्यागमन विभागको तथ्यांकअनुसार जनवरी र फेब्रुअरीमा सो संख्यामा बाह्य पर्यटकले नेपालको भ्रमण गरेका थिए । फेब्रुअरीमा मात्रै ९७ हजार ६९४ बाह्य पर्यटकले नेपाल भ्रमण गरेका थिए । सो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३३ प्रतिशतले बढी हो ।

सन् २०१८ को दुई महिनामा १ लाख ६३ हजार ६९४ बाह्य पर्यटकले नेपालको भ्रमण गरेका थिए । अघिल्लो वर्षको फेब्रुअरीमा ८९ हजार ५०७ बाह्य पर्यटक नेपाल आएका थिए । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको विवरणमा सन् २०१९ को जनवरीमा ९१ हजार ७९३ बाह्य पर्यटकले नेपालको भ्रमण गरेका छन् । फेब्रुअरीमा मात्रै भारतबाट नेपाल आउने बाह्य पर्यटकको संख्या ९२.५ प्रतिशतले बढेको छ ।

सार्क मुलुकबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा पनि अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८५ प्रतिशतले बढेको छ । चिनियाँ पर्यटक ५.३ प्रतिशतले मात्रै बढेको छ । युरोपियन मुलुक, बेलायत, जर्मनी र फ्रान्सबाट नेपाल आउनको संख्या क्रमशः ८.७, २७.९ र ७.६ प्रतिशतले बढेको छ । सन् २०१९ को फेब्रुअरीमा युरोपबाट आउने पर्यटकको संख्या १७ हजार ७८९ पुगेको छ । सो अवधिमा अमेरिकाबाट ७ हजार १३३ पर्यटक आएका छन् जुन अघिल्लो वर्षको तुलनामा पाँच प्रतिशतले बढी हो ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बोर्ड तथा निजी क्षेत्रले गरेको प्रवद्र्धनात्मक गतिविधिका कारण बाह्य पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको बताए । गत वर्षको तुलनामा यस वर्षको दुई महिनामा ४० प्रतिशतले बाह्य पर्यटक आगमन बढेकाले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सार्थक तुल्याउन थप प्रवद्र्धनात्मक कार्यक्रम गरिने उनले बताए । 

प्रतिक्रिया दिनुहोस्