राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुँदैन् : प्रधानमन्त्री ओली



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुँनै नसक्ने बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद सचिवालयको १८ औं वार्षिकोत्सवलाई सोमबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पृथकतावादी समुह सानो भए पनि त्यो विशाक्त हुने भएकोले त्यसलाई नियन्त्रण गर्नु सरकारको दायित्व भएको स्पष्ट पारे ।

“पृथकतावाद सानो भए पनि त्यो घातक हुन्छ । त्यसैले यसलाई सरकारले महत्व दिएर नै निस्तेज पारेको हो ” , प्रधानमन्त्री ओलीले भने, “राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुँनै सक्दैन । यस बिषयमा कसैले चिन्ता नगरे हुन्छ ।” ओलीले पृथकतावादको अन्त्य हुँदा एकथरी मान्छे मुरमुरिएको देखेर आफू आश्चर्यमा परेको बताए ।

“नेपालबाट पृथकतावादी गतिविधि निस्तेज हुँदा एकथरी मान्छे पानी बिनाको माछा जस्तो भुटभुटिएका छन्”, उनले भने, “राष्ट्रिय अखण्डता र सार्वभौम सत्तामा आँच पुर्याउने कुरामा जनमत संग्रह गर्ने भन्ने कुरा सोच्न पनि नमिल्ने कुरा हो ।” विभिन्न आवरणमा चन्दा लिने, लुटपाट गर्ने कुरा सरकारलाई  मान्य नहुने ओलीको भनाइ थियो ।

“देशको  शान्ती सुरक्षा र अमन चयन खल्बल्याउने कुनै गतिविधि सरकारलाई मान्य हुँदैनन् ”, ओलीले भने, “कोही मृत संस्था जिवीत गराउने सपना देख्छन्, कोही क्रान्तीका नाममा जनता अल्मल्याउने कुरा गर्छन् । ति दुवै कुरालाई निस्तेज पारिन्छ । ” देशको अखण्डता, सार्वभौमसत्ताको रक्षा र राष्ट्रिय सुरक्षाका लागि सुरक्षा परिषदले निर्वाह गरेको भूमिकाको प्रधानमन्त्री ओलीले प्रशंसा गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्