जनता आवास कार्यक्रम : पहिलो प्राथमिकतामा चार जाति



वीरगन्ज : प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रदेश सरकारले जनता आवास कार्यक्रमका लागि दलित समुदायका जातिलाई पहिलो प्राथमिकता दिएको बताएका छन्।

जनता आवास कार्यक्रमको वीरगन्जस्थित कार्यालयको उदघाट्न गर्दै मन्त्री सोनलले दलित समुदायका मुसहर, डोम, मेस्तर र हलखोर जाति आर्थिक र सामाजिक रुपले पछाडि रहेकाले प्रदेश सरकारले पहिलो प्राथमिकता उनीहरूलाई दिएको जानकारी दिए ।

मन्त्री सोनलले दोश्रो चरणमा चमार, पासवान, दुसाद जातिका साथै एकल महिला र शहीद परिवारका लागि पक्की घर बन्ने बताए । मुसहर, डोम, मेस्तर र हलखोर जातीको आफ्नो निजी जग्गा समेत  नरहेकाले उनीहरूले भोगचलन गर्दै आएको जग्गामै जनता आवास कार्यक्रममार्फत घर निर्माण गरिदिने सोनलले बताए।

यसअघि संघीय सरकारको मातहतमा रहेको जनता आवास कार्यक्रममा कर्मचारीको लापरवाही, राजनीतिक हस्तक्षेप लगायत कारणले निक्कै ढिलासुस्ती भएप नि अब भने यो कार्यक्रम प्रदेश सरकारको मातहतमा आइसकेकाले विगतका समस्या नदोहोरिने दाबी मन्त्री सोनलले गरे।

उनले कानुनी जटिलतालाई पनि सहज र सरल बनाइसकेकाले जनता आवास कार्यक्रम विगतको भन्दा उत्कृष्ट हुने दाबी गरे। जनता आवास कार्यक्रम अन्तर्गत  पर्सामा आर्थिक वर्ष २०७२–०७३ मै १ हजार घर बनाउने लक्ष्य राखिएकोमा तीन वर्ष बितिसक्दासमेत ८० वटा मात्रै घर पूर्ण रुपमा बनेका छन्।

शहरी विकास तथा भवन कार्यालय वीरगन्जका प्रमुख सरोज गोइतका अनुसार १ हजारमध्ये पाँच सय भन्दा बढी घरमा छाना हालिएको भए पनि चर्पी नबनेको, झ्याल, ढोका नहालेको अवस्थामा छ।  २ सय ८५ घरधुरीमा छाना छाउने तयारी भइरहेको छ।

८५ वटामा भने डीपीसीको काम मात्रै सकिएको छ । कार्यक्रमका लागि विनियोजित २२ करोड ६० लाख रुपैयाँमध्ये हालसम्म ३ करोड ९४ लाख ५८ हजार रुपैयाँ मात्र खर्च भएको गोइतले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्