राष्ट्रिय महिला फुटबल टोली पुरस्कृत 



विराटनगर : ओलम्पिक छनोटमा पहिलो पटक भाग लिएर दोस्रो चरणमा प्रवेश गरेको तथा भारतमा सम्पन्न हिरो कपमा उपविजेता बनेको नेपाली महिला राष्ट्रिय टोलीलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ।  

सोमबार राति विराटनगरमा एक कार्यक्रम आयोजना गरी अखिल नेपाल फुटबल संघ(एन्फा)ले नगद पुरस्कार प्रदान गरेको हो। एन्फाका प्रवक्ता किरण राईका अनुसार ओलम्पिकमा भाग लिएका र हिरो कपमा सहभागी बनेकालाई ५०/५० हजार र दुवै प्रतियोगितामा भाग लिएका महिला फुटबलरलाई  एक लाख रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको छ। एन्फाले उपलब्ध गराएको नगद पुरस्कार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले प्रदान गरे। 

एक लाख रुपैयाँ नगद पुरस्कार पाउने महिला खेलाडीमा अन्जना राना मगर, एन्जिला तुम्बा, मन्जिलाकुमारी योन्जन, विमला चौधरी, दीपा राई, निरु थापा, रेणुका नगरकोटी, सरु लिम्बू, अनिता केसी, अनिता बस्नेत, हीराकुमारी भुजेल, सावित्रा भण्डारी, गीता राना, मनमाया लिम्बू, पुनम जर्घामगर, कविता धिमाल र अमृता जैसी छन्। ५० हजार नगद  पाउनेमा सुनिता चौधरी, उषा नाथ, रेखा पौडेल, रन्जना दर्जी, रुपा राना, दीपा न्यौपाने, अनु लामा, शर्मीला थापा र पूजा राना छन्।  

अफिसियलतर्फ फिजियोमा विवेक विक्रान्त अधिकारी, मनिषा महर्जन, जिनी बज्राचार्यलाई जनही ५० हजार पुरस्कार दिइयो। सहायक प्रशिक्षक भगवती राना मगर, गोलरक्षक प्रशिक्षक मृगेन्द्र मिश्र, टोली व्यवस्थापक कमला हीराचन र टोलीका मुख्य प्रशिक्षक हरि खड्कालाई पनि एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरियो। 

मेयर पराजुलीले तीन जना मोरङका खेलाडी सरु लिम्बू, कविता धिमाल र मनमाया लिम्बूलाई विराटनगर महानगरपालिकाको सद्भावना दूतमा नियुक्त गरेका छन्। उनले मंगलबारबाट विराटनगरमै सुरु हुने पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिपमा विजयको सुभाकामना दिंदै उपाधि उचालेपछि नगद पुरस्कारले खेलाडीलाई सम्मान गर्ने घोषणा गरे। एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाली राष्ट्रिय टोलीलाई विजयको शुभकामना दिए। 

ओलम्पिक छनोटमा पहिलो पटक भाग लिएको नेपाली महिला राष्ट्रिय टोली भारत, म्यानमार र बंगलादेश तीन वटै देशसँग १–१ गोलको बराबरी खेलेको थियो। पहिलो पटक भाग लिएको टोली दोस्रो चरणमा प्रवेश गरेको थियो। भारतमा भएको हिरो कपमा भने उपविजेता बनेको थियो।

 

प्रतिक्रिया दिनुहोस्