कारागार सार्न गृहमन्त्रीलाई ज्ञापनपत्र



भैरहवा : सिद्धार्थनगर नगरपालिकाले जिल्ला कारागारलाई स्थानान्तरण गर्न गृहमन्त्री राम बहादुर थापा 'बादल'लाई आग्रह गरेको छ। नगरपालिकाले ज्ञापनपत्र बुझाई मन्त्रीलाई ओमसतिया गाउँपालिकामा रहेको जमिनमा कारागार स्थानान्तरण गर्न आग्रह गरेको हो।

प्रदेश ५ को सुरक्षा गोष्ठीमा सहभागी हुन भैरहवा आएका मन्त्री थापालाई नगर प्रमुख हरि प्रसाद अधिकारी, उपप्रमुख उमा काफ्ले र प्रमुख प्रशासकीय अधिकृत ख्याम बहादुर थापाले ज्ञापनपत्र बुझाएका हुन्।

हाल जिल्ला कारागार नगरपालिकाकाे वडा नम्बर १२ स्थित कालिकापथमा छ। त्यहाँबाट नगरपालिकाको स्वामित्वमा रहेको साविक पट्खौली गाविस हाल ओमसतिया गाउँपालिकामा रहेको ६ विघा ७ कठ्ठा साढे १३ धुर जग्गामा स्थानान्तरण गर्न नगरपालिकाले आग्रह गरेको नगर नगरप्रमुख अधिकारीले बताए।

नगरपालिको मंसिर १ गते बसेको बैठकले कारागार नगरपालिकाबाट ओमसतिया सार्न सर्वसम्मत निर्णय गरेको थियो। निर्णय भए लगत्तै नगरपालिकाले जिल्ला प्रशासन कार्यालय रुपन्देही, कारागार कार्यालय र कारागार व्यवस्थापन विभागलाई आग्रह गरिसकेको उपप्रमुख उमा काफ्लेले बताइन्। सम्बन्धित निकायहरुलाई आग्रह गरिसकेकाले मन्त्रीलाई समेत ज्ञापनपत्र बुझाइएको हो।

यस अघि नगरपालिकाले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई कारागारको अवलोकन गराई स्थानान्तरणको लागि पहल गर्न आग्रह गरेको थियो। ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले आफूले यस विषयमा अध्ययन गरी आवश्यक कदम चाल्ने बताए।

ओमसतियामा कारागार स्थानान्तरण भएमा हाल कारागार रहेको ठाउँमा पार्किङ स्थल बनाउने योजना बनाइएको प्रशासकीय अधिकृत थापाले बताए। नगरमा पार्किङ स्थल र पर्याप्त सार्वजनिक जमिन नहुँदा समस्या हुँदै आएको छ।

१९९० सालमा बनेको कारागार जीर्ण बन्दै गएको छ। साँगुरो भवनमा कैदीबन्दीलाई जबरजस्ती कोचिएको छ। यहाँ क्षमता भन्दा ४ गुणा कैदीबन्दी छन्। त्यसैले राम्रो र खुल्ला ठाउँमा सार्न पहल गरिएको नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्