सरकारविरुद्ध १० विद्यार्थी संगठनकाे माेर्चाबन्दी, चैत्र १५ मा विरोध-सभा गर्ने



काठमाडौं : सरकारसँग विभिन्न ६ बुँदे माग राख्दै संयुक्त प्रतिपक्ष विद्यार्थी संघले तत्काल ती मागलाई सम्बोधन गर्न चेतावनी दिएको छ । मागलाई बेवास्ता गरे सरकारविरुद्ध कडा आन्दोलनमा उत्रिने संगठनको तयारी रहेको छ ।

सोमबार अनेरास्ववियु पाँचौंको केन्द्रीय कार्यालय रातोपुलमा बसेको बैठकले तत्काल स्ववियुको कार्यतालिका सार्वजनिक गर्न त्रिभुवन विश्वविद्यालयसामु माग गरेकाे छ । बैठकले नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा त्रिविको नियमविपरीत प्रत्यक्ष निर्वाचन प्रणाली अन्तरगत हुन लागेको स्ववियु निर्वाचनलाई तत्काल स्थगित गर्न पनि माग गरेको छ ।

बैठकले सरकार र सिके राउत नेतृत्वको संगठनका विरुद्ध संघर्ष गर्न आम जनसमुदायलाई अपिल पनि गरेको छ । दस विद्यार्थी संगठनका प्रमुखहरुको हस्ताक्षर गरेर जारी गरेको विज्ञप्तिमा वाइडबडी भ्रष्टाचार, एनसेलको कर छली, सुन कान्ड र बलात्कारपछि हत्या भएकी निर्मला पन्तको न्यायका लागि संघर्ष गर्न हाेमिन सबैलाई तयार रहन पनि आग्रह गरेको छ ।

यसैगरी गण्डकी मेडिकल कलेजमा भएको भ्रष्टाचार छानबिन गरेर विद्यार्थीका जायज माग सम्बोधन गरी पठनपाठनमा सहभागी हुने वातावरण बनाउन पनि बैठकले सरकारसँग माग गरेको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा भएको अनियमिताको छानबिन गर्न पनि सरकारसँग संयुक्त प्रतिपक्ष विद्यार्थी संगठनले माग गरेको छ ।

राजनैतिक आन्दोलनमा क्रियाशिल नेत्र बिक्रम चन्द विप्लप नेतृत्वको माओवादी र थारु समुदायको आन्दोलनका जायज मागलाई वार्ता र संवादको माध्यमबाट राजनीतिक रुपमै समाधान गर्न समेत बैठकले सरकारसँग माग गरेको छ ।

चैत १५ मा विराेध-सभा

राष्ट्रियता तथा जनजिविकाका सवाल, भ्रष्टाचार, शैक्षिक सरोकार र सरकारका गलत क्रियाकलापहरुकाे विराेध लगायत विषयहरुसँग सम्बन्धित रहेर आउँदो चैत्र १५ गते वसन्तपुर डबलीमा सयुक्त प्रतिपक्ष विद्यार्थी संगठनका मातृ पार्टीका शीर्ष नेताहरूको उपस्तिथिमा विरोध सभा आयोजना गर्ने निर्णय गरिएकाे प्रेस वक्तव्यमार्फत जनाइएकाे छ ।

साे संगठनद्वारा जारी विज्ञप्तिमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु पाँचौ,अखिल क्रान्तिकारी, नयाँ शक्ति विद्यार्थी युनियन, समाजवादी विद्यार्थी फोरम नेपाल, राष्ट्रिय विद्यार्थी संघ, अखिल नेपाल विद्यार्थी युनियन, नेपाल आदिवासी जनजाति महासंघ, राष्ट्रवादी विद्यार्थी संघ र अखिल क्रान्तिकारीका प्रमुखहरु क्रमशः ऋषिकेश जंग शाह,घनस्याम मिश्र, चिरञ्जीवी ढकाल, श्यामबाबु गौतम, विवेक राई, चिरञ्जीवी यादव, प्रविन मिश्र, दुजाङ शेर्पा, ताराप्रसाद अर्याल र सुन्दर रायमाझीले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्