फेसबुकबाट ६० हजार प्रयाेगकर्ताकाे डाटा चोरी



एजेन्सी :  युक्रेनमा बस्ने दुई युवकले एक अनलाइन क्विजका माध्यमबाट ६० हजार भन्दा धेरै फेसबुक प्रयोगकर्ताको प्रोफाइल डाटा चोरी गरेका छन् । 

अनलाइन क्विजको माध्यमबाट प्रयोगकर्ताको ब्राउजरमा भाइरसयुक्त एक्सटेन्सन इन्स्टल गराएर उनीहरुले प्रयोगकर्ताको फेसबुक प्रोफाइलका डाटा लिक गराएका थिए । फेसबुकले ती दुई युवा विरुद्ध मुद्दा दायर गरेपछि यो तथ्य खुलेको छ ।

एन्ड्रयू गोबेकोभ र ग्लेब स्लक्वेस्कीले प्रयोगकर्ताको फेसबुक न्यूज फिडमा विभिन्न खालका अनधिकृत विज्ञापनहरु देखाउनका लागि एक ब्राउजर एक्सटेन्सनको प्रयोग गरेका थिए । त्यसका लागि उनीहरुले फेसबुक प्रयोगकर्तालाई हाजिरी जवाफको प्रयोग गरी लोभ्याएका थिए । प्रयोगकर्ताले फेसबुकमा उनीहरुले राखेको अनलाइन क्विजमा भाग लिएपछि वेब ब्राउजरमा उक्त एक्सटेन्सन इन्स्टल हुन्थ्यो ।

यि दुईले यस ब्राउजर एक्सटेन्सनलाई यस्तो रुपमा तयार गरेका थिए, कि जब एप प्रयोगकर्ता फेसबुक वा अन्य कुनै सोसल मिडिया नेटवर्किङ्ग साइटमा लगइन गर्छन् तब उसको अकाउन्टका जानकारीहरु चोरिन्छन् र लिक हुने गर्छन्  । यसले प्रयोगकर्ताको फेसबुक न्यूज फिडमा अनधिकृत विज्ञापनहरु पनि देखा पर्छन् । ती दुईजना युवकहरुले वेब सन ग्रुप नामक कम्पनी सञ्चालन गरिरहेका थिए ।

युक्रेनको किभमा बस्ने ती दुई युवाले ह्याकिङ्ग प्रतिरोधी कानूनको उल्लंघन गरेका थिए । उनीहरु विरुद्ध फेसबुकको नियम उल्लंघन गरेको अभियोगमा मुद्दा दायर गरिएको फेसबुकले जनाएको छ । उनीहरुले खासगरी रुसी भाषी फेसबुक प्रयोगकर्ताहरुलाई लक्षित गरेका थिए । 

फेसबुकका अनुसार यी दुई युवाले कूल ६३ हजार फेसबुक प्रयोग कर्ता द्वारा ब्राउजर एक्सटेन्सन इन्स्टल गराएर डाटा लिक गराएका थिए । यसले अनधिकृत विज्ञापन प्रकाशन बाट फेसबुकलाई ७५ हजार डलर नोक्सानी भएको छ ।

प्रतिक्रिया दिनुहोस्