सुन र तामा खानी उत्खनन गर्ने दाउमा पाकिस्तानी सेना



एजेन्सी, इस्लामाबाद : पाकिस्तानको सेना विश्वको सबैभन्दा ठूलामध्येको तामा र सुन खानी उत्खनन गर्न अघि सरेको छ। अहिलेसम्म उत्खनन नभएको उक्त खानीबाट तामा र सुन निकाल्नका लागि विदेशी खानी कम्पनीबीचको विवादले रोकिएको छ।

पाकिस्तानको पश्चिमी प्रान्त बलुचिस्तानमा रहेका तामा र सुन खानी रेको डिकमा प्रधानमन्त्री इमरान खानको नेतृत्व क्षमताको अग्नी परीक्षण हुने बताउँछन् पर्यवेक्षक। आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानमा उनले वैदेशिक लगानी कसरी भित्र््याउँछन् त्यसको पनि रेको डिक खानी उत्खननले देखाउनेछ।

इरान र अफगानिस्तानको सीमावर्ती क्षेत्रमा रहेको विलुप्त ज्वालामुखीको फेदमा छ रेको डिक खानी। क्यानडाको बारिक गोल्ड र चिलीको एन्टोफागस्टा खानी कम्पनीबीचको कानुनी लडाइले रेको डिकको उत्खनन सुरु हुनै सकेको छैन। 

प्रान्तका र केन्द्रका वर्तमान तथा पूर्वसरकारका १० जना अधिकारी र बलुचिस्तानको खानीका जानकारहरूका अनुसार अहिले भने खानीमा सर्वाधिक चासो सेनाले देखाइरहेको छ। सेनाले खानीलाई रणनीतिक राष्ट्रिय सम्पत्तिका रुपमा लिएको छ।

खानी उत्खननको जिम्मा कसलाई दिने निर्णयमा यतिबेला सेना नै निर्णायक स्थितिमा हुनुका साथै सेना नियन्त्रित सरकारी इन्जिनियरिङ फर्म फ्रन्टियर वक्र्स अर्गनाइजेसन (एफडब्ल्यूओ) उत्खनन कन्सोर्टियममा सहभागी हुन अघि बढेको छ।

पाक सञ्चारमन्त्री फवाद चौधरीले खानीबारे छिट्टै निर्णय गरिने बताए। उनका अनुसार अशान्त दक्षिण पश्चिमी बलुचिस्तानको प्रान्त सरकारसँग रेको डिकको स्वामित्व थियो। साथै उनले खानी उत्खननमा विदेशी कम्पनीसँगै सेना पनि महत्वपूर्ण रहेको उल्लेख गरे। 

खानी उत्खननमा भइरहेको चलखेलले निर्वाचित प्रान्तीय र संघीय सरकारलाई कसरी खेलाउँछ र अनेकौं दबाब दिएर अप्ठ्यारोमा पार्छ देखाउँछ। खासमा सेनाले देशको सुरक्षा र विदेश नीतिमा कसरी हस्तक्षेप गर्छ भन्ने पनि यसले देखाउँछ।

चीनका सरकारी कम्पनीहरूले लामो समयदेखि रेको डिक खानीमा अभिरुची देखाउँदै आएका छन् भने पछिल्लो समय साउदी अरेबियाले समेत खानीमा चासो दिएको पाक अधिकारीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्