देशमा आतंक मच्चाउने समूहसँग वार्ता हुन सक्दैन् : प्रधानमन्त्री ओली



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा र  बिस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्ने समुहसँग सरकारले वार्ता नगर्ने बताएका छन् । नेपाल  वैदेशिक रोजगार व्यावसायी संघको टोलीसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले फागुन २४ गते संघका अध्यक्ष रोहन गुरुङको घरमा बम हानेको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गर्न आएको टोलीसँग मंगलबार बालुवाटारमा कुरा गर्दै प्रधानमन्त्री ओलीले बम पड्काउने र पैसा असुल्नेसँग वार्ता गर्नुको औचित्य नभएको स्पष्ट पारे ।

“कतिपयले वार्ता गर्नुपर्याे भन्छन् तर, के का लागि वार्ता गर्ने ? उनीहरूले गरेका क्रियाकलाप राजनीतिक हुन् ? बम पड्काउने, आतंकित पार्ने, पैसा असुल्ने कुरा राजनीतिक हुन सक्दैनन्”, ओलीले भने, “जहाँजहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यही बम हान्नेहरूसँग के को वार्ता ? उनीहरूलाई कानुनबमोजिम नियन्त्रणमा लिइन्छ ।”

प्रधानमन्त्री ओलीले एउटा गिरोहले कम्युनिस्टका नाममा घिनलाग्दो काम गरिरहेको बताए । “कम्युनिस्टले त युवाहरूलाई कर्मशिल हुन, सही बाटोमा हिँडाउन र उत्पादनमा लाग्न सिकाउनुपर्ने हो”, ओलीले भने, “यहाँ त कम्युनिस्टको नाममा युवालाई लुट्न सिकाइरहेका छन् । यो हुन सक्ने कुरा होइन ।”प्रधानमन्त्री ओलीले अध्यक्ष गुरुङको घरमा भएको बिस्फोटप्रति दुःख व्यक्त गरेका छन् । यस घटनाको बारेमा सरकारले छानविन गर्ने ओलीले प्रतिवद्धता व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस्