साफ महिला च्याम्पियनसिप : भुटानलाई हराउँदै नेपालको विजयी सुरुवात



विराटनगर : साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । विराटनगरको सहिद रंगशालामा मंगलबार सम्पन्न उद्घाटन खेलमा भुटानलाई ३–० ले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो ।  

सुरुवातबाटै आक्रमक खेल खेलको नेपालका लागि १३ औ मिनेटमा मन्जलीकुमारी योञ्जनले गोल गर्दै सुरुवाती अग्रता दिलाएकी थिइन् । लगत्तै नेपालले दोस्रो गोल गर्न सफल भयो । १६ औ मिनेटमा सावित्रा भण्डारीले भुटानको कमजोर डिफेन्सको फाइदा उठाउँदै टोलीको अग्रता दोब्बर पारिन।

पहिलो हाफमा २–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा १ गोलमात्र थप्यो । ५४ औ मिनेटमा कप्तान निरु थापाले नेपालका लागि तेस्रो गोल गरिन। अनिता बस्नेतको क्रसमा सावित्रा भण्डारीले टच लाईनमा झारेको बललाई थापाले पोस्टको दिशा दिइन्। तर, त्यसपछि भुटानविरुद्व निरन्तर आक्रमण बुनेपनि नेपालले थप गोल गर्न सकेन ।

४१ औ मिनेटमा सावित्रा वान भर्सेस वानमा गोल गर्न चुकिन् । ४४ औ मिनेटमा मन्जलीले डिबक्सभित्रबाट प्रहार गरेको शक्तिशाली प्रहार पोस्ट नजिकैबाट बाहिरियो । पहिलो हाफको इन्जुरी समयमा सावित्राको क्रसमा अनिता बस्नेतले ट्याप गरेको बल भुटानकी गोलकिपरले मुस्किलले बचाइन् । यसअघि २ पटक भुटानसँग भिडेको नेपालले दुवै खेलमा भुटानलाई ८–० को फराकिलो अन्तरले पराजित गरेको थियो ।

जितसँगै समुह ‘ए’ मा रहेको नेपालले तीन अंक जोड्न सफल भएको छ । भुटानविरुद्वको जितले नेपाल सेमिफाइनल नजिक पुगेको छ । समुह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसंग खेल्नेछ ।

साफ महिला च्याम्पियनसिपको सबै संस्करणमा भाग लिएको भुटानले कुनै संस्करणमा पनि समूह चरण पार गर्न सकेको छैन्। भुटानले अहिलेसम्म एउटै पनि खेलमा जित निकाल्न सकेको छैन्। ४ संस्करणमा १२ खेल खेल्दा भुटानले ३ गोल गर्दा ७२ गोल खाएको छ। 

प्रतियोगिताका लागि भनेर भुटानी टिम एक साताअघिनै नेपाल आएको थियो। उसले नेपालको अन्डर–१९ महिला टोलीसँग मैत्रिपूर्ण खेल खेलेको थियो। तर, दुवै खेलमा भुटानी टोली बराबरीमा रोकिएको थियो। नेपाली टिम साफ महिला फुटबलमा सधै बलियो रहँदै आएको छ। अघिल्ला चार संस्करणमध्ये ३ संस्करणमा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो। अघिल्लो संस्करणमा भने नेपाल भारतसँगै सेमिफाइनलमा स्तब्ध भएको थियो।

प्रतिक्रिया दिनुहोस्