अवैध रुपमा संचालित एग्रोमा शिलबन्दी 



वीरगन्ज : जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिका वडा नम्बर ४ मा अवैध रुपमा संचालित रहेको एक कीटनाशक औषधी उत्पादन गर्ने उद्योगमा छापामारी शिलबन्दी गरेको छ । नारायणी अस्पतालको पछाडी रहेको किसान एग्रो केमिकल्स प्रालिमा प्रहरीले छापामारी गरी शिलबन्दी गरेको हो ।

प्रालिका संचालक श्यामकुमार तुल्स्यानले दर्ता बिनै अवैध रुपमा उद्योग संचालन गरेको सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत उज्जवलबहादुर बस्नेतको नेतृत्वमा गएको टोलीले छापामारी उद्योगमा शिलबन्दी गरेको हो ।

टोलीमा वाणिज्य कार्यालय वीरगन्ज, आन्तरिक राजस्व कार्यालय वीरगन्ज, कृषि ज्ञान केन्द्र पर्सा, जिल्ला प्रहरी कार्यालय पर्साका प्रतिनिधि थिए । उद्योग सञ्चालन ऐन अन्तर्गत उद्योग सञ्चालन नगरेकोले स्थानीय प्रशासनमा परेको उजुरीको आधारमा छापा मारिएको वाणिज्य कार्यालय पर्साका प्रमुख ओमनारायण शर्माले बताए  ।

उद्योगले बालीनालीमा छर्ने गुणस्तरहिन कीटनाशक औषधी उत्पादन गर्ने गरेको, बाहिरबाट कीटनाशक औषधी मगाएर रिप्याकेजिङ् गर्ने तथा म्याद सकिएको उत्पादनमा फेरी म्याद थपि बिक्री वितरण गरि अनियमितता गरेको समेत भेटिएको शर्माले जानकारी दिए । उद्योग परिसरबाट विभिन्न प्रकारका केमिकल तथा मालवस्तु नियन्त्रणमा लिई थप अनुसन्धानको प्रकृया अगाडि बढाइएको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्