सडकको हिउँ नपग्लिँदा खाद्यान्न ढुवानीमा समस्या, उपभोग्य वस्तुको हाहाकार



म्याग्दी : हिमाली जिल्ला म्याग्दीको धौलागिरी गाउँपालिका वडा नं १ गुर्जामा फागुन १४ र १५ गते परेको भारी हिमपात अहिलेसम्म नपग्लिँदा खाद्यान्न अभाव भएको छ । गाउँमा दैनिक उपभोग्य वस्तुको हाहाकार हुन थालेपछि स्थानीय चिन्तित बनेका छन् । अति विकट तथा दुर्गम गाउँ गुर्जा जोड्ने पैदलमार्गमा हिउँ नपग्लिँदा खाद्यान्न ढुवानीमा समस्या भएको स्थानीयले बताएका छन् ।

धौलागिरी गाउँपालिका–२, लुलाङ, देउराली, लट्बाङ हुँदै गुर्जा पुग्ने पैदलमार्गमा अझै करिब ४ फिटसम्म हिउँ जमेको छ । बाक्लो हिउँ जमेका कारण पैदलयात्री र खाद्यान्न ढुवानी गर्ने खच्चडलाई आवतजावत गर्न समस्या भएको गाउँपालिकाका प्रवक्ता एवं गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए । बाक्लो हिउँ परेका कारण बाटो अवरुद्ध भएपछि गाउँमा आवश्यक पर्ने खाद्यान्नको अभाव सुरु भएको उनले बताए ।

हिमपातका कारण खाद्यान्न ढुवानीमा समस्या हुँदा गाउँमा चामल, नुन, खानेतेल, चिनीलगायत दैनिक उपभोग्य सामग्रीहरूको हाहाकार हुन थालेको वडाध्यक्ष छन्त्यालले बताए । भारी वर्षासँगैको हिमपातले गुर्जा जोड्ने प्रमुख मार्ग हिमपातकै कारण बन्द भएको बताउँदै उनले लुलाङ र गुर्जाको सिमानामा पर्ने देउरालीमा करिब चार फिटसम्म हिउँ जमेको बताए । देउराली गुर्जा गाउँ जोड्ने घना जङ्गल हो । गूर्जामा यसपटक मात्रै आठौं पटकसम्म हिमपात भएको थियो । 

चट्टान जस्तै जमेको हिउँ नपग्लिँदा गुर्जाबाट गाउँपालिकाको केन्द्र मुना भएर सदरमुकाम बेनी आउने स्थानीयले गुर्जादेखि मुदीको अर्चे हुँदै अर्को बाटो भएर मुनातर्फ जाने गरेपनि अत्यन्त जोखिमपूर्ण भएकाले समस्या भएको बताएका छन् । जाडोयामका लागि आवश्यक पर्ने खाद्यान्नको व्यवस्थापन गरेका स्थानीयले हिमपातले मार्ग अवरुद्ध भएपछि अभाव झेल्न बाध्य हुनुपरेको छ ।

छिमेकी जिल्ला बागलुङ र रुकुमबाट समेत गुर्जा जोड्ने मार्गमा हिमपात भए पनि सोही मार्गबाट खाद्यान्नसहितका अति आवश्यक साम्रगीहरु ल्याउन धौ–धौ हुने गरेको स्थानीयवासी बताउँछन् । फागुन महिनाको अन्तिमसम्म पनि अझै गाउँको आसपासमा हिउँ जमेका कारण बालबालिकादेखि वृद्धवृद्धालाई समस्या भएको स्थानीय गोर्खा छन्त्यालले बताए । बस्ती आसपासका चरन क्षेत्रमा जाने बाटो समेत सहज नभएको उनले गुनासो गरे । समुन्द्री सतहदेखि २ हजार ७ सय मिटरको उचाइमा अवस्थित गूर्जाको एउटै बस्तीमा मात्रै झण्डै साढे २ सय घरधुरीहरु रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्