बाराही ताल जाने सडक निर्माण



म्याग्दी : म्याग्दीको मालिका गाउँपालिका –१ निस्कोटमा रहेको पर्यटकीयस्थल बाराही ताल जाने सडक निर्माण गरिएको छ । वडा कार्यालयको सिफारिसमा गाउँपालिकाबाट विनियोजित ३ लाख रुपैयाँ र स्थानीयवासीकोे २५ हजार बराबरको श्रमदानमा सडक निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष पुकार घर्तिले जानकारी दिए ।

देउगोरे, झाम्ताबोट र दास हुँदै बाराही तालसम्मका लागि आठ सय मिटर सडक निर्माण गरिएको अध्यक्ष घर्तीले जानकारी दिए । सडकको चौडाइ ६ मिटर फराकिलो बनाइएको छ । पछिल्लो समय पर्यटकीय स्थलको रुपमा विकास हुँदै गएको तालमा पर्यटन प्रवद्धन गर्न मोटर बाटो निर्माण गरिको वडाध्यक्ष टंकप्रसाद पुन मगरले बताए।

साथै, तालमा घुम्न आउने पर्यटकलाई लक्षित गरि बगैचा निर्माण गर्न वडा कार्यालयबाट तीन लाख रुपैयाँ बजेट विनियोजन गरिएको वडाध्यक्ष मगरले बताए । यसैगरी बराही तालको पर्यटन प्रवद्धन गर्न बाराही ताल हुँदै छिमेकी जिल्ला ताराखोला गाउँपालिकाको देउरालीसम्म मोटरबाटो निर्माण हुने उनले जानकारी दिए । बराही ताल जानका लागि यसअघि वडा कार्यालयद्धारा पदमार्ग निर्माण गरिएको छ ।

गाउँपालिका भित्र रहेका पर्यटकीय स्थलमा पर्यटकको सेवा सुविधा लगायत अन्य आवश्यक भौतिक पुर्वाधार निर्माणमा गाउँपालिकाले विशेष जोड दिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले जानकारी दिए । उनले गाउँपालिका भित्र रहेका हरेक पर्यटकीय स्थलहरुको पर्यटन प्रवद्धन गर्न गाउँपालिकाले ठूलो आर्थिक लगानि गरेको बताए । 

प्रतिक्रिया दिनुहोस्