माइभ्याली गोल्डकप : दार्जिलिङलाई स्तब्ध पार्दै पुलिस सेमिफाइनलमा



इलाम : विभागिय टोली नेपाल पुलिस क्लब इलाममा जारी पाँचौं संस्करणको माइभ्याली गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सदरमुकामको ठूलो टुँडिखेलमा मंगलबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा भारत दार्जिलिङको युनाइटेड क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै पुलिस अन्तिम चारमा प्रवेश गरेको हो ।

पुलिसको जितमा सौजन्य याक्खा राई र भरत साहले गोल गरे । पराजित टोलीका लागि करण राईले एक गोल फर्काए। खेलको म्यान अफ दि म्याच पुलिसका सौजन्य नै घोषित भए । पुलिसले अब फाइनल प्रवेशका लागि चैत्र २ गते सशस्त्र प्रहरीको एपिएफ र क्यामरुनको दाउफिन्स एफसीबीचको विजेतासँग पहिलो सेमिफाइनल खेल्नेछ ।

प्रतियोगितामा बुधबार दोस्रो क्वार्टरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन थ्रीस्टार क्लब र हिमालयन शेर्पा आमने सामने हुनेछन् । हिमालयनले सोमबार हङकङ युनाइटेडलाई ५–१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो भने थ्री स्टारले सिघै क्वाटरफाइनल खेल्न लागेको हो ।

चैत ५ सम्म चल्ने प्रतियोगितामा आयोजक माइभ्याली क्लबसहित साविक विजेता रुस्लान थ्रिस्टार, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बलको एपिएफ, हिमालयन शेर्पा, मेची नेत्रालय काकडभिट्टा, क्यामरुनको दाउफिन्स एफसी, दार्जिलिङ युनाइटेड र हङकङको नेप्लिज फुटबल क्लबको सहभागिता छ । प्रतियोगिताको विजेताले ७ लाखसहितको ‘मेयर्स कप’ र उपविजेताले ४ लाख रुपैयाँ पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस्