त्रिविको परीक्षाका लागि चार विकल्प



त्रिभुवन विश्वविद्यालयले परीक्षासम्बन्धी सिफारिस गर्न गठन गरेको समितिले चार विकल्पमा काम गर्न सुझाब दिएको छ । समितिले दिएको सुझाबका आधारमा आइतबार परीक्षासम्बन्धी निर्णय गर्न लागिएको छ ।

त्रिविले गठन गरेको समितिले ‘ओपन बुक इग्जाम’देखि परम्परागत रूपमा लिइँदै आएजस्तै दूरी कायम गरी परीक्षा लिन सकिनेसहित चार सुझाब दिएको छ । पहिलो, ‘ओपन बुक इग्जाम’ लिन सकिने विकल्प दिएको छ । केन्द्रबाट प्रश्न पठाउने र विद्यार्थीले निश्चित समयभित्र उत्तर लेखेर पठाउने ‘ओपन बुक इग्जाम’ हो । दोस्रोमा आन्तरिक मूल्यांकनलाई केही भार दिने र मौखिक परीक्षा लिने विकल्प सुझाएको छ । जुमलगायका विभिन्न माध्यम, टेलिफोन आदिबाट मौखिक परीक्षा लिन सकिने समितिको सिफारिसमा उल्लेख छ ।

तेस्रो, अनलाइन परीक्षा लिन सकिने विकल्प सिफारिस गरेको छ । यसमा विद्यार्थीले अनलाइनमै बसेर तोकिएको समयभित्र उत्तर लेखेर पठाउन सक्नेछन् । थोरै विद्यार्थी र प्रविधिको प्रयोग भएका विद्यालयमा यो विधि उपयुक्त हुने समितिका एक सदस्यले बताए । चौथो विकल्पमा परम्परागत रूपमा परीक्षा केन्द्र निर्धारण गरेर परीक्षा लिन सकिने समितिले सिफारिस गरेको छ । विद्यार्थी संख्या धेरै रहेको त्रिविमा कोभिड–१९ पछिको अवस्थामा उनीहरू कहाँ कस्तो अवस्थामा छन् भन्ने यकिन छैन । त्यसैले सबभन्दा पहिले विद्यार्थीलाई ‘ट्रेसिङ’ गरी कहाँ र कस्तो अवस्थामा छन् पत्ता लगाउनुपर्ने समितिले सुझाएको छ । विद्यार्थी पत्ता लगाएपछि उनीहरूलाई पायक पर्ने ठाउँमा परीक्षा केन्द्र निर्धारण गरी सुरक्षा अपनाएर परम्परागत ढंगको परीक्षा लिन सकिने विकल्प समितिले दिएको छ ।

समितिले परीक्षासम्बन्धी सुझाबसहितको प्रतिवेदन रेक्टरको संयोजकत्वमा रहेको परीक्षा सुधार समितिलाई बुझाएको छ । त्रिविका रेक्टर प्रा।डा। शिवलाल भुसालले प्रतिवेदन आएको र कुन विकल्पअनुसार जान सकिन्छ भन्ने विषयमा छलफल भएको बताए । आइतबार सुधार समितिको बैठक बस्ने र कुन विकल्पअनुसार परीक्षा गर्ने भन्ने विषयमा निर्णय गर्ने प्रा।डा। भुसालले बताए । ‘परीक्षा सुरु गर्नुपर्छ भन्नेमा छौँ । अन्तर्वार्ता तथा दूरी कायम गरेर परीक्षा गर्न सकिन्छ कि भन्ने छ,’ उनले भने ।

त्यस्तै, विश्वविद्यालय अनुदान आयोगले पनि सम्भव भएसम्म परीक्षा लिन सबै विश्वविद्यालयलाई परिपत्र गरेको छ । आयोगले कोभिड–१९ को सुरक्षा प्रोटोकल कायम गरी विश्वविद्यालयका स्थगित परीक्षा लिन परिपत्र गरेको हो । आयोगको परिपत्रमा पहिलो परम्परागत परीक्षालाई दिन र परीक्षा लिन सम्भव नभएका विश्वविद्यालयले विद्यार्थीलाई माथिल्लो सेमेस्टर वा वर्षमा पठनपाठन कायम गरी दुई वटा सेमेस्टरको परीक्षा एकैपटक लिन सकिने उल्लेख छ । नयाँ पत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस्