राजपाले आजदेखि संघीय संसद अवरुद्ध गर्ने



काठमाडाैंः सरकारलाई दिएको समर्थन अघिल्लो हप्ता फिर्ता लिएको राष्ट्रिय जनता पार्टी (राजपा) ले आजदेखि संसद अवरुद्ध गर्ने भएको छ। न्यायाधीस गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले संसद अवरुद्ध गर्न लागेको हो।

मधेश तथा थरुहट आन्दोलनका क्रममा भएका घटनाको सम्बन्धमा न्यायिक छानविनका लागि सरकारले लालको नेतृत्वमा छानविन आयोग गठन गरेको थियो। तर, लाल आयोगको प्रतिवेदन सार्वजनिक नहुँदा कैलाली–१ बाट निर्वाचित सांसद रेशमलाल चौधरी थुनामा रहनु परेको निष्कर्ष राजपाको छ।

‘न्यायिक आयोगको प्रतिवेदन सार्वजनिक नगरी प्रहरी प्रतिवेदनको आधारमा सांसद चौधरीलाई फसाउने काम गरिएको छ’ राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले भने, त्यसैले, त्यो प्रतिवेदन सार्वजनिक गर्न हामी दबाब दिनेछौँ।’ प्रतिनिधि सभाको बैठक आज दिउसो १२ बजे बस्दैछ। बैठक सुरु हुनासाथ राजपाका सांसदहरुले बेल घेराउ गर्नेछन्। स्मरणीय छ, जेलमा रहेका सांसद चौधरी सहित राजपाले प्रतिनिधि सभामा १७ सिटमा विजय हासिल गरेको थियो।

प्रतिक्रिया दिनुहोस्