बालिका बलत्कृत भएको तीन दिन पछि घटना सार्वजनिक 



मोरङ: मोरङको उर्लाबारीमा बालिका बलात्कार भएकाे तीन दिनपछि घटना सार्वजनिक भएको छ । मोरङको उर्लाबारी नगरपालिका–३ थापा चौकका जेम्स क्षेत्री भनेर चिनिने २५ वर्षीय चन्द्रमणि आचार्यले एक बालिकालाई आफ्नै घरमा बन्धक बनाएर बलात्कार गरेको घटना आज सार्वजनिक भएको हाे ।

आचार्यले १३ वर्षीया बालिकालाई उर्लाबारीस्थित घरमै लगेर राति बलात्कार गरेका थिए ।

‘गिफ्ट’ ल्याइदिएको छु भन्दै मोरङको कानेपोखरीमा बोलाएर आफ्नो मोटरसाइकलमा राखि आचार्यले बालिकालाई आफ्नै घरमा पुर्‍याएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

बलात्कारपछि भागेका आचार्यलाई  मोरङकै मिक्लाजुङ गाउँपालिकाबाट नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बालिकाको कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्