विद्युत प्राधिकरण प्रमुखको कार्यकक्षमा तालाबन्दी



जनकपुरधाम : बिनासूचना बिजुलीको लाइन काटेको भन्दै स्थानीय युवाले विद्युत प्राधिकरण जनकपुरधाम वितरण शाखाका कार्यालय प्रमुख सूर्यनारायण मण्डलको कार्यकक्षमा तालाबन्दी गरेका छन्।

बिहीबार स्थानीय युवाले चैतमा हुने टी २० सहिद कप क्रिकेट प्रतियोगिताका लागि पिच बनाइरहेका बेला प्राधिकरणले सूचना नदिई लाइन काटेको बताए। 

राजपा नेपाल धनुषा अध्यक्षमण्डलका सदस्य ज्ञानेन्द्र झा ज्ञानुको नेतृत्वमा गएको प्रतियोगिता आयोजक सहितका स्थानीय युवाले प्रदेशकै लागि भइरहेको सामाजिक काम प्राधिकरण प्रमुखले अवरोध पुर्याएकाले तालाबन्दी गरेको बताएका छन्।

‘हामी निजी काम गरिरहेका छैनौं, विद्युतका मिटर राख्ने ठाउँ नभएकाले प्राधिकरणकै सल्लाहमा पोलबाट तानेर काम गरिरहेका थियोैं’, अध्यक्षमण्डलका सदस्य ज्ञानले भने, ‘सामाजिक कार्यमा यसरी विद्युत काट्नुको औचित्य छैन।’

प्राधिकरणले यस्तै मनपरि गरे क्रिकेट प्रतियोगिता आयोजना हुन नसक्ने भन्दै समस्याको कुनै निकास ननिकालुन्जेल तालाबन्दी यथावत् रहने चेतावनीसमेत उनीहरूले दिएका छन्। चैतमा हुने उक्त प्रतियोगितामा नेपाल–भारतका १० टिमको सहभागिता रहनेछ। 

विद्युत प्राधिकरण जनकपुरधाम वितरण शाखा प्रमुख मण्डलसँग यसबारे जानकारी लिन खोज्दा उनको मोबाइल उठेन। तर कर्मचारीहरूले मिटर नराखी बिजुली प्रयोग गर्नु गैरकानुनी भएकाले लाइन काटिएको प्रतिक्रिया दिएका छन्। 

प्रतिक्रिया दिनुहोस्