दक्षिण कोरिया र अमेरिबीच उत्तर कोरियाबारे फेरि भेटवार्ता



एजेन्सी, सोल : दक्षिण कोरियाका एक वरिष्ठ सरकारी अधिकारी उत्तर कोरियाबारे छलफल गर्न बुधबार अमेरिकातर्फ उडेका छन् । 

कोरियाली विदेश मन्त्रालयका कोरियाली शान्ति विभागका महानिर्देशक रिही दोङ–योलले वासिङटन डिसीमा बिहीबार उत्तर कोरियासम्बन्धी अमेरिकी उपसहायकमन्त्री अलेक्स वोङसँग छलफल गर्नेछन् । 

छलफलमा दुवै देशका उत्तर कोरिया मामिला हेर्ने सरकारी अधिकारी पनि सामेल हुनेछन् । फेब्रुअरी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच हनोईमा भएको वार्ता विफल भएपछि दक्षिण कोरियाली र अमेरिकी अधिकारीबीच छलफल हुन लागेको हो ।

उत्तर कोरियाको आणविक निःशस्त्रीकरण प्रक्रिया कसरी फेरि ब्युँताउनेबारे छलफल हुनेछ । उत्तर कोरियामाथिका आर्थिक नाकाबन्दी केही खुकुलो बनाउने दक्षिण कोरियालीे प्रस्तावमाथि समेत दुवै देशका अधिकारीबीच छलफल हुनेछ । 

उत्तर र दक्षिण कोरियामा बस्ने एकै परिवारका सदस्यबीच भिडियोमार्फत कुराकानी गराउनेसम्बन्धमा पनि छलफल हुने जानकारी दिइएको छ ।

दुवै कोरियाको सिमानामा रहेको उत्तर कोरियाली काइसोङ औद्योगिक क्षेत्र फेरि सञ्चालन गर्ने, माउन्ट कुमगाङ पर्यटन कार्यक्रम पनि थाल्नेलगायत मामिलामा छलफल गर्ने बताइएको छ ।

हालै जारी एउटा प्रतिवेदनअनुसार उत्तर कोरियामाथिको आर्थिक नाकाबन्दीको अनुगमन गरिरहेको राष्ट्र संघीय विशेषज्ञहरूको एउटा समूहले उत्तर कोरियाले गैरकानुनी तवरबाट संसारभरिका कैयौं कम्पनीसँग कारोबार गरिरहेको बताएको छ । उसले पेट्रोल र कोइला पनि बेचिरहेको बताइएको छ ।

अमेरिकाले भने उत्तर कोरियामाथि राष्ट्र संघ सुरक्षा परिषद्ले लगाएका प्रतिबन्ध सबै देशले पालन गर्नुपर्ने दोहोर्‍याउँदै आएको छ । दक्षिण कोरियाली राष्ट्रपति मुन जाए–इनले उत्तर कोरिया र अमेरिकाबीच मध्यस्थता गर्न प्रयास गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्