जनतासँगै श्रमदानमा खटिदै जनप्रतिनिधि



म्याग्दी : जनताले दिएको मत (भोट)बाट निर्वाचित भएपछि आफूलाई सर्वशक्तिमान ठानेर जनमतको बेवास्ता गर्ने परिपाटी कायमै छ। तर, आफू अनुकूलका कामहरू गर्ने भनेर जनप्रतिनिधिको आलोचना भइरहेका बेला म्याग्दीका केही जनप्रतिनिधिहरूले भने आफैं अगुवा बनेर उदाहरणीय काम गरेका छन् ।

आफ्नो पेशा व्यवसाय र घरायसी कामलाई समेत त्यागेर अनवरत जनताको काममा लाग्ने र आफैँ ज्यामी मजदुर बनेर जनतासँगै काममा खटिने जनप्रतिनिधि पनि म्याग्दीमा छन् । जिल्लाको बेनी नगरपालिका वडा नं ३ भकिम्लीका अध्यक्ष पदम पुनः यस्तै जनप्रतिनिधिमध्येका एक हुन् । अध्यक्ष पुन अहिले गाउँ जोड्ने सडकको स्तरोन्नतिका लागि स्थानीयसँगै जनश्रमदानमा खटिरहेका छन् ।

बेनी–भकिम्ली सडकखण्ड अन्तर्गत हल्लेगौडाको भीरमा अध्यक्ष पुनले जनतासँगै कैयौं दिनदेखि दिनभरी श्रम गरेपछि स्थानीय पनि उत्साहित भएका छन् । वडा सदस्य गेमबहादुर घर्तीका अनुसार विगत ३ दिनदेखि वडाध्यक्षको नेतृत्वमा वडाका सम्पूर्ण जनप्रतिनिधिले जनतासँगै श्रम गरेर सडकको स्तरोन्नति गर्ने काम भइरहेको छ । १७ किलोमिटर दुरीको बेनी–भकिम्ली मोटरबाटो स्तरोन्नतिका लागि बेनी नगरपालिकाले विनियोजन गरेको ३० लाखले सो सडकको स्तरोन्नति गर्न नपुग्ने भएपछि वडाध्यक्ष लगायतका जनप्रतिनिधिको अगुवाइमा जनश्रमदान अभियान संचालन गरिएको हो ।

‘म तीन दिनदेखि घरमा नै नगइकन काममा खटेको छु’, वडाध्यक्ष पुनले भने, ‘हामी जनताको सेवा गर्न भनेर आएका हौं, आफ्नो व्यक्तिगत कामलाई भन्दा बढी महत्व हामीले जनताको कामलाई दिनुपर्छ ।’

बेनी नगरपालिका वडा नं ३ मा स्वतन्त्र प्यानलबाट अध्यक्षमा निर्वाचित भएका पुन म्याग्दीका लागि मात्रै नभएर नेपालकै लागि एक उदाहरणीय जनप्रतिनिधि हुन। अत्यन्त सादगी जीवनशैली, काममा खटिरहने प्रवृत्ति, नम्र स्वभाव, मिलनसार र सहकार्यमा विश्वास गर्ने पुन जनताको कामका लागि जस्तो सुकै दुःख सहन पनि पछि नपर्ने सच्चा जनप्रतिनिधि भएको स्थानीयवासीले बताएका छन् ।

अध्यक्ष पुनकै अगुवाइमा भकिम्लीमा ३ करोड भन्दा बढीको लागतमा जयन्ति माविको जिल्लाकै सुविधा सम्पन्न र भव्य भवन निर्माण भएको छ । देश विदेशमा रहेका भकिम्लेलीहरूले आफ्ना जनप्रतिनिधिको विश्वासमा यतिधेरै आर्थिक सहयोग गरेर गाउँमा जिल्लाकै नमूना विद्यालय भवन निर्माण गरेका हुन् ।

‘भकिम्लीले साच्चिकै जनप्रतिनिधि पाएको छ, जनताको सेवा र सुविधाका लागि सधैं खटिरहने जनप्रतिनिधि पाउँदा हामी धेरै खुसी छौं’ भकिम्लीका ६७ वर्षीय धनबहादुर घर्तीले भने, ‘अध्यक्ष ज्यू लगाएत सबै जनप्रतिनिधि आफ्नो घरको काम छोडेर भएपनि भकिम्लीको विकासमा खटिनुभएको छ ।’ अहिले नेपाली जनताको अपेक्षा पनि यही रहेको छ ।

आफूले मत दिएर जिताएका जनप्रतिनिधि गाउँको विकासमा लागुन्, पक्ष–विपक्ष नहेरुन्, भ्रष्टाचार नगरुन्, निश्पक्ष रुपमा जनपरिचालन गरेरै भएपनि गाउँको मुहार फेरुन्, शिक्षा, सडक, स्वास्थ्य, खानेपानी र सिंचाइजस्ता आधारभूत कुराहरूमा अब हामीले धेरै सास्ती पाउन नपरोस् यही नै जनताको चाहना हो । तर, जन चाहना विपरित जनप्रतिनिधिहरू गएपछि जनतामा छाएको निराशा चिर्न म्याग्दीका पुन ‘कालो बादलभित्रको चाँदीको घेरा’ बनेर देखिएको स्थानीयको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्