सीके राउतको गतिविधि निगरानी गर्दै सरकार



जनकपुरधाम : सरकारसँग ११ बुँदे सहमति पश्चात राजनीतिक मूलधारमा आएका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतलाई विशेष सुरक्षा निगरानीमा राखिएको छ । सरकारले असई र प्रहरी जवान सहित २ प्रहरीसँगै बसेर निगरानी गर्ने व्यवस्था गरे पनि राउतले ती सुरक्षाकर्मीलाई जनकपुर ८ बलवाटोलस्थित आप्mनो निजी निवासमा पुग्ने बितिकै फिर्ता पठाएका थिए ।

ती सुरक्षाकर्मीलाई राउतले फिर्ता पठाए पनि जिल्ला प्रहरी कार्यालय धनुषाले त्यहाँस्थित प्रहरी चौकीमै विशेष सुरक्षा टोली परिचालन गरी निगरानी गर्दै आएका छन् । श्रोतका अनुसार राउतको गतिविधिलाई निगरानी गर्न उनी बसेको तीन तल्ले भवनको छत र परिसरमा सिसिटिभी जडान गरिएको छ ।

राउतले सुरक्षाकर्मी फिर्ता पठाएको कुरा जिप्रका धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले पनि संचारकर्मीसंगको कुराकानीमा स्वीकार गरेका छन् । उनले भने,‘माथिबाटै उनलाई सुरक्षा दिन आदेश रहेकोले प्रहरीले आफ्नो हिसाबले सुरक्षा दिइरहेका छन् ।’ राउत खुल्ला राजनीतिमा अवतरण गरेपछि सुरक्षा दिनु प्रहरीको दायित्व, रहेको खनालले जानकारी दिए ।

राउतको हरेक गतिविधि र सुरक्षा अवस्थाको समन्वयनबारे जिल्ला प्रशासन कार्यालय धनुषामा जानकारी गराइदै आएको उनले बताए । प्रहरीले राउत परिवार सहित बस्दै आएको भवनको मूल गेटमा भित्रैबाट ताल्चा लगाएको छ भने मधेश स्पेशल टास्क फोर्स नामक संगठनका उनका निजी सुरक्षा गार्डले राउतका नेता कार्यकर्ताबाहेक कसैलाई भेटन दिएको छैन् ।  संचार माध्यमले राउतको प्रतिक्रिया लिन पटक पटक प्रयास गरेपनि अहिले सन्चो नभएको कारण होलीपछि कुरा गर्ने गठबन्धनका नेताहरूले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्