साफ महिला च्याम्पियनसिप : आयोजकको फितलो व्यवस्थापन



विराटनगर : अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला फुटबलमा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरे पनि व्यवस्थापन भने फितलो देखिएको छ । फितलो व्यवस्थापनकै कारण आयोजकले बुधबारको खेलमा माल्दिभ्सको राष्ट्रिय गीत बजाउन सकेन । खेल सुरु हुनुअघि प्रतिस्पर्धामा रहेका दुवै टिमको राष्ट्रिय गीत बचाउनुपर्ने नियम छ । आयोजकले भने समयमा व्यवस्थापन गर्न नसक्दा माल्दिभ्सको गीत बजाउन सकेन् ।

भारतको राष्ट्रिय गीत बजीसकेको लगभग ५ मिनेटपछि फितलो व्यवस्थापनकै कारण माल्दिभ्सको गीत बजाउन नसकिएपछि प्लेयर बक्समा माइक्रोफोन लगेर माल्दिभ्सका खेलाडी र प्रशिक्षकलाई राष्ट्रिय गीत गाउन लगाइएको थियो । विराटनगरका अधिकांश सडक बन्ने क्रम रहेका छन् । सडक बन्द हुँदा प्रतियोगितास्थल सहिद रंगशाला अगाडिबाट सर्वसाधारणलाई पैदल मात्रै हिँड्न दिएको थियो ।

प्रतियोगितास्थल सहिद रंगाशाला अघि भने सडक पिच गरिएको छ । उक्त सकडमा साइकल, मोटसाइकल, सिटी सफारी लगायतका साना तथा ठूला सवारी साधनलाई आवतजावतमा रोक लगाइएको छ । सवारी साधन आवत जावतले प्रतियोगितामा कुनै असर नगर्ने भए पनि अनवश्यक रुपमा लगाइएको नियमका कारण सर्वसाधारणले हैरानी बेहोर्नुपरिहेको र कष्टपूर्ण रुपमा यात्रा गर्नु परिरहेको गुनासो स्थानीय बासिन्दाको छ ।

राम्रो सडकमा सवारी साधन चलाएर यात्रा गर्न नपाउँदा अप्ठेरो बाटो हुँदै गन्तव्यसम्म जानुपर्ने अवस्था रहेको स्थानीयको गुनासो छ । ‘अन्तर्राष्ट्रिय प्रतियोगिता भएका कारण सुरक्षा व्यवस्था कडा पारिनु पर्छ,’ एक स्थानीयले भने, ‘तर सुरक्षा व्यवस्थाका नाममा बाटो नै प्रयोग गर्न नपाउने गरीको प्रतिबन्ध सर्वसाधारणमा लगाउन हुँदैन ।’ प्रतियोगिता हेर्ने दर्शकको उपस्थिति पनि न्यून रहेको छ ।

प्रतिक्रिया दिनुहोस्