राष्ट्रिय नाटक महोत्सव सम्पन्न, प्रदेश सरकारकै लगानीमा नाटक घर बन्ने



सुर्खेतः पहिलो पटक सुर्खेतमा आयोजना भएको रारा राष्ट्रिय नाटक महोत्सव बुधबार सम्पन्न भएको छ । सांस्कृतिक संस्थान नेपाल र स्थानीय आरंग नेपालको आयोजनामा फागुन २३ देखि सुरु भएको नाटक महोत्सव उत्सापूर्ण रुपमा बुधबार सकिएको हो । देशभरीका सात प्रदेशबाट २–२ गरी १४ वटा नाटक समावेश भएको महोत्सवमा आयोजकले सोचेको भन्दा पनि अनपेक्षित रुपमा दर्शक पायो ।

दैनिक नाटकघर दर्शकले भरिभराउ हुँदा नाटक प्रदर्शन गर्ने कलाकारले पनि उत्साहपूर्ण तरिकाले आफ्नो प्रस्तुती राखे । पहिलो पटक नै भए पनि नाटकले स्थानीय तहदेखि प्रदेश सरकारको भरपुर सामिप्यता प्राप्त गर्न सफल भएको छ । छिटफुट रुपमा नाटक मञ्चन हुने सुर्खेतमा आफ्नै नाटकघर नहुँदा नाट्य विधा अपेक्षाअनुसार मौलाउन पाएका थिएन । तर, अन्तिम दिन प्रदेश सरकारले नै आफ्नै लगानीमा नाटक घर निर्माण गर्ने बाचा गरेपछि सांस्कृतिक संस्थान र आरंग नेपालका पदाधिकारीले सुर्खेतमा महोत्सव लगाउनुको उद्देश्यपूर्ति भएको बताएका छन् ।

बुधबार काठमाडौंको ङ समूहको नाटक प्रदर्शनपछि प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले आगामी आर्थिक वर्षमा नै नाटकघर निर्माणका लागि बजेट विनियोजन गरिने प्रतिवद्धता जनाए । मन्त्री रावलले तर बजेट विनियोजन हुनुपूर्व सांस्कृतिक संस्थानले डिपीआर तयार पार्नुपर्ने अनुरोध गरे । कला, संस्कृति र भाषाको संरक्षणबिना मानव अस्तित्व कायम नहुने भएकाले कर्णालीको पहिचान स्थापीत गर्न प्रदेश सरकारले जिम्मेवारपूर्ण भूमिका निभाउने बाचा गरे ।

यस्तै, राष्ट्रियसभाका सदस्य तथा बरिष्ठ रंगकर्मी खेम नेपालीलले कला, संस्कृति र भाषालाई अलग राखेर जीवनको अस्तित्व नहुने दाबी गरे । स्थानीय आयोजक आरंग नेपालका संयोजक गणेशभक्ता गौतमले सात दिनसम्म संचालन भएको नाटकको उद्देश्य कलाको प्रदर्शन मात्रै नभई सुर्खेतमा नाटक मञ्चन हुने स्थानको खोजी पनि भएकाले प्रदेश सरकारको प्रतिवद्धताबाट सन्तुष्ट भएको बताए ।

उद्घाटनको दिन आरंग नेपालको मुसलपर्व प्रस्तुत गरिएको थियो । दैनिक २–२ वटा नाटक मञ्चन हुने प्रहरी व्यायामशालाको हलमा २४ गते प्रदेश नं.१ बाट सोलुखुम्बु नाट्य समुह, सोलुखुम्बुबाट युवराज युराकद्वारा निर्देशीत नाटक ‘आरन’ प्रदर्शन भएको थियो । सोही दिन दिउँसो ३ बजे प्रदेश ७ को खप्तड सांस्कृतिक मञ्च परिवार, कैलालीबाट पुष्पा अवस्थीद्वारा निर्देशित ‘छाउ’ प्रदर्शन गरियो । त्यस्तै, २५ गते ११ बजे प्रदेश १ बाट मानव अधिकार मञ्च नेपाल, इलामबाट सुरेश पोर्तेलद्वारा निर्देशित नाटक ‘म पहिलो सन्तान किसान जन्माउछु’ र कर्णाली कला प्रतिष्ठान, सुर्खेतबाट बालकृष्ण सुनारद्वारा निर्देशित नाटक ‘आमाको सपना’ प्रदर्शन भयो ।

२६ गते प्रदेश २ बाट श्री गढीमाई नाट्य कला केन्द्र, बाराको रामलोचन चौरसीयाद्वारा निर्देशित  ‘दहेज आ दारु’ सुदुरपश्चिमाञ्चल साहित्य समाज, कैलालीबाट भिष्म जोशीले निर्देशन गरेको नाटक ‘श्रीमान् वीरबहादुर’, २७ गते बजे प्रदेश नं. ३ को साइलेन्ट एक्ट, काठमाडौंबाट आरके मेहताले निर्देशन गरेको नाटक ‘जिउँदो आकाश’, कर्णाली प्रदेशको कर्णाली खस संस्कृति मञ्च जुम्लाबाट रन्नीबहादुर घर्तीले निर्देशन गरेको ‘फड्को’ नामक नाटक मञ्चन भएको थियो ।

यस्तै २८ गते बिहान ११ बजे प्रदेश नं. ४ को मञ्जरी नाट्य समुह, लमजुङबाट पुरु लम्सालले निर्देशन गरेको नाटक ‘नौगेडी’, प्रदेश नं. ५ को शान्तिका लागि युवा सञ्जाल बर्दियाबाट झकेन बिसीले निर्देशन गरेको नाटक ‘हिटवा’, र २९ गते बिहान ११ बजे प्रेशन नं. ४ को युथ क्रिएसन थिएटर पोखराबाट केदार पौडेलले निर्देशन गरेको नाटक ‘घेरो’ प्रदेश नं. ३ को ङ समुह काठमाण्डौबाट प्रवीण खतिवडाले निर्देशन गरेको नाटक ‘एक बोली एक दाम’ मञ्चन भएको आरंग नेपालका संयोजक गणेश गौतमले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्