कन्काई नदीमा आएका बाढीले बाँध भत्काउँदा १ सय पाँच घर डुबानमा



बिर्तामोड : लगातारको वर्षापछि कन्काई नदीमा आएको बाढीले झावा गाउँपालिकाको दुई वटा बस्ती डुबानमा परेको छ ।

कन्काई नदीमा आएको बाढीले झापा गाउँपालिकास्थित जनताको तटबन्ध भत्काएपछि गाउँपालिकाको वडा नम्बर १ स्थित मिलनबस्तीका ८३ घर र २ नम्बर वडास्थित सडकबारीका २२ घर डुबानमा परेका हुन् ।

सोमबार दिउँसोदेखि डुबानमा परेका १ सय ५ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । मिलनबस्तीका ८३ परिवारलाई स्थानीय सितुमारी प्राथिमा तथा सडकबारीका २२ परिवारलाई स्थानीय लक्ष्मी प्राविमा राखिएको थियो ।

बस्तीमा पानीको मात्रा केही घटेकाले मिलनबस्तीका ६० परिवार भने मंगलबार बिहान घर फर्किएको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिए । मिलनबस्तीका २१ परिवार भने घर फर्किन सक्ने अवस्था नरहेको उनले बताए ।

नदीमा आएको बाढीले चार दिनदेखि लगातार कटान गरेको थियो । बाँध भत्काएर बस्तीतर्फ सोझिएको बाढीले करिब एक हजार बिघा धान खेतसमेत डुबाएको छ ।

वडा नम्बर २ का अध्यक्ष नेत्रबहादुर खड्काका अनुसार सडकबारीका ५५ घर डुबानको उच्च जोखिममा छन् । भत्किएको बाँध तत्काल निर्माण गर्न नसके मिलनबस्ती, सडकबारी, सालमारा, लसुनगञ्जलगायतका बस्तीका सयौं घरपरिवार डुबानमा पर्ने अध्यक्ष साहले बताए ।

प्रकाशित : साउन ६, २०७७

प्रतिक्रिया दिनुहोस्